उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बोत्तलले हानेपछि कर्मचारी रिसले आगो, नगरपालिकाको सेवा ठप्प

उपप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बोत्तलले हानेपछि कर्मचारी रिसले आगो, नगरपालिकाको सेवा ठप्प

महोत्तरीको बल्वा नगरपालिकाकी उपप्रमुख रामदुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै त्यहाँ कार्यरत कर्मचारी आन्दोलित भएका छन् । 

बैठक बसिरहेको समयमा उपप्रमुखले ठाकुरमाथि बोत्तल प्रहार गर्दै गालीगलौज गरेको कर्मचारीहरुको आरोप छ । त्यसको विरोधमा उनीहरुले आज आन्दोलन गरेका हुन् । 

कर्मचारीहरुका अनुसार अस्ति बसेको बैठकमा उपप्रमुख देवीले नगरपालिकासँग असंलग्न व्यक्तिलाई छिराएको र त्यसो नगर्न आग्रह गर्दा बोत्तल प्रहार गरेकी थिइन् । व्यक्तिगत विषयलाई नगरपालिकाको बैठकमा उठान गर्दै उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको कर्मचारीहरुको दुखेसो छ । 

आन्दोलित कर्मचारीहरुले घटनामा संलग्न उपप्रमुखसहित सबैलाई कारबाही गर्नसमेत माग गरेका छन् । पदीय मर्यादा र सीमा उल्लंघन गरी अधिकृतमाथि भएको घटनामा संलग्नता जनाउने सबैलाई कारबाही नगरेसम्म नगरपालिकासहित वडा कार्यालयबाट दिने सबै सेवा बन्द गर्ने कर्मचारीहरुको चेतावनी छ । 

‘आफ्नो पदीय मयार्दा र सीमालाई उल्लंघन गरी निजमाथि भएको दुर्व्यवहार, गालीगलौज, हातपातजस्ता घटनाप्रति हामी बलवा नगरपालिकाका सम्पूर्ण कर्मचारी परिवार घोर भत्र्सन गर्दछौं । राष्ट्रसेवक कर्मचारीहरुमाथि यस्ता घटनाहरु पटक–पटक नघटोस् र सहज कार्य वातावरण निर्माण होस्’, कर्मचारीहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 

टिप्पणीहरू