बजेट अभाव देखाएर नगरपालिकाले हात उठाएपछि स्वास्थ्यका कर्मचारी तलबबिहीन
कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी तीन महिनादेखि तलबबिहीन भएका छन् ।
बजेट अभावले संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० जना स्वास्थ्यकर्मीले तीन महिनादेखि पारिश्रमिक नपाएका हुन् । नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले संघीय सरकारले बजेट नपठाउँदा उनीहरुलाई तलब खुवाउन समस्या भएको बताए ।
नगरपालिकाले करार तथा ज्यालादारीमा राखेको कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराइरहेको बताउँदै उनले समायोजन आएका स्वास्थ्यकर्मीले भने तीन महिनादेखि तलबभत्ता नपाएको स्वीकार गरे ।
‘नगरपालिकाले करार तथा ज्यालादारीमा राखेका कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराइरहेको छ,’ चौधरीले भने, ‘तर, संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएका आएका स्वास्थ्यकर्मीले तीन महिनादेखि तलबभत्ता पाएका छैनन् । तलब नपाएपछि उनीहरुले सेवा नै बन्द गरेर आन्दोलन गर्ने घोषणा गरेपछि हिजो सम्झाएर पठाएका छौँ ।’
उनका अनुसार संघीय सरकारले दुई किस्तामा रकम उपलब्ध गराउँदै आएको छ । पहिलो किस्तामा एक करोड ९२ लाख र दोस्रोमा ४२ लाख रुपैयाँ पठाएको थियो । तर, चालु आर्थिक वर्षमा एक करोड २६ लाख रुपैयाँ अपुग हुँदा स्वास्थ्यकर्मीलाई तलबभत्ता दिन नसकेको चौधरीको भनाइ छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बजेट अभाव देखाएर नगरपालिकाले आफूहरुको समस्या सुनुवाइ नगरेको गुनासो गरे । उनले भने, ‘तीन महिनादेखि बिनातलब काम गर्नुपरेको छ, घरखर्च कसरी चलाउने भन्ने स्थिति छ ।’
तत्काल नगरपालिकाबाटै भएपनि दुई महिनाको तलब उपलब्ध गराउनुपर्ने उनको माग छ । तर, नगर प्रमुख केवल चौधरीले भने स्वास्थ्यकर्मीको समस्या तत्काल नगरपालिकाले समाधान गर्न नसक्ने बताए ।
उनले भने, ‘कर्मचारी संघीय सरकारबाट आएका हुन् । उनीहरुको सेवासुविधा संघ सरकारले नै बेहोर्नुपर्छ । हामीले नियुक्त गरेका कर्मचारीको सेवासुविधा रोकेका छैनौँ ।’
टिप्पणीहरू