लामिछानेको गुप्त कुरा बाहिरिने डरले चालकलाई मदिरा खुवाएर खसालिएको "ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो" को ठहर

लामिछानेको गुप्त कुरा बाहिरिने डरले चालकलाई मदिरा खुवाएर खसालिएको "ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो" को ठहर

नेपाल समाजवादी मोर्चा, "ईन्टरनेशनल ईन्टेलिजेन्स ब्यूरो" (आईआईबी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको ड्राइभर शम्भु थापाको घटना प्रकरणबारे प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ । 

गत वैशाख ४ गते भरतपुर महानगरपालिका ११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापाको घटना प्रकरणबारे छानबिन गरेर आईआईबीले प्रतिवेदन सार्वजनिक गरेको हो । थापालाई हत्या गर्ने योजनाका साथ मदिरा पार्टीको आयोजना गरेर सुनियोजित तरिकाले खसालिएको प्रतिवेदनको निष्कर्ष छ । 

घटनाको भोलिपल्ट चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेलाई चुनावी कार्यक्रममा लैजाने तालिका हुँदाहुँदै राति २ बजेसम्म मदिरा सेवन गर्नुले प्रश्न उब्जाएको प्रतिवेदनमा उल्लेख छ । भनिएको छ, ‘भोलिपल्ट उम्मेदवार रवि लामिछानेको चुनावी कार्यक्रमको सेड्युल रहेको र सो कार्यक्रममा चालक शम्भु थापाले नै लामिछानेलाई गाडीमा लैजाने भएको हुँदा राति २ बजेसम्म मदिरापानसहितको पार्टी गर्ने अनुमति लामिछानेको स्वीकृति बेगर कसरी प्राप्त भयो ?’

त्यस्तै, आईआईबीले रास्वपाका महामन्त्री मुकुल ढकालको ड्राइभर र सभापति लामिछानेको ड्राइभरको शरीरमा रहेको मदिराको मात्राको रिपोर्ट सार्वजनिक गर्न माग गरेको छ । थापालाई धेरै मदिरा पिउन लगाउनु भन्दै लामिछानेले ढकालको ड्राइभरलाई भनेको सुन्नमा आएको हुनाले यस विषयमा पनि छानबिन हुनुपर्नेमा जोड दिइएको छ । 

अनुसन्धानको क्रममा सभापति लामिछाने आफैंले छतमा लगेर धकेलेको शंका पनि पैदा भएको हुँदा त्यसको वास्तविकता पत्ता लगाउनुपर्ने लिखित माग राखिएको छ । लामिछानेले बैंकमा रकम जम्मा गर्न थापालाई अह्राउने गरेको उल्लेख गर्दै हालसम्म थापाको नामबाट डिपोजिट गरिएको रकमको विवरण सार्वजनिक गर्न पनि भनिएको छ ।

लामिछानेका ससुरा उद्धवप्रसाद पौडेलको नामको खातामा समेत थापाले नै रकम जम्मा गर्ने गरेको जानकारी गराउँदै आईआईबीले उनको खातालाई छानबिनको दायरामा ल्याउन भनेको छ । ‘कतिपय चेकहरु रवि लामिछानेको ससुरा उद्धवप्रसाद पौडेलको नामको खातामा सवारी चालक शम्भु थापाले आफैं गएर जम्मा गर्ने गरेका थिए । पौडेल व्यापारिक घरानीयाको भएको कारण निजको खातामा भएको कारोबारमा कसैले कुनै शंका, उपशंका नहुने एवं नगर्ने कारण लामिछानेले ससुराको खाता रोजेको देखिन्छ’, प्रतिवेदनमा लेखिएको छ । 

‘निर्वाचनको मुखमा सवारी चालक मर्यो र विपक्षीहरुले मेरो चालकको हत्या गर्यो’ भनि सहानुभूति बटुल्न र चुनाव जित्न यो घटना घटाइएको आईआईबीको आरोप छ । 

साथै, कोर टिमको गतिविधि लुकाउन पनि यो हर्कत गरिएको हुनसक्ने आईआईबीको आशंका छ । कोर टिममा भएका सदस्यहरुको मोबाइल कल डिटेल्स र अन्य सञ्जालमा गरिएको कुराकानीको अध्ययन गर्न पनि माग गरिएको छ ।

युवराज सफल संयोजक रहेको मोर्चाद्वारा गठित आईआईबीले प्रतिवेदनको उद्देश्य कसैलाई आरोप लगाउन नभई सरकारलाई अनुसन्धानमा सहयोगका निम्ति तयार पारेको बताएको छ ।

टिप्पणीहरू