बारा जानुअघि बालुवाटारमा काँग्रेस सभापति र परराष्ट्रमन्त्रीको प्रधानमन्त्रीसँग पौने घण्टा मुलाकात

बारा जानुअघि बालुवाटारमा काँग्रेस सभापति र परराष्ट्रमन्त्रीको प्रधानमन्त्रीसँग पौने घण्टा मुलाकात

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री एनपी साउदसँग संयुक्त भेटवार्ता गर्नुभएको छ ।

आज बिहानै बालुवाटारमा उक्त भेट भएको हो । प्रधानमन्त्रीसँग भेटघाट गर्न बिहान साढे ८ बजे बालुवाटार पुग्नुभएका देउवा र मन्त्री साउद सवा ९ बजे बाहिरिनुभएको बताइएको छ । 

छिट्टै भारत भ्रमणको तयारीमा रहनुभएका प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई सँगै राखेर मुख्य सत्ता साझेदार दलका सभापतिसँग भेटवार्ता गर्नुलाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै लागि भनेर काँग्रेसमा मन्त्री भागबण्डाको आन्तरिक बिबादकै बीच साउदलाई हतारमा आइतबार शपथ खुवाइएको थियो । 

देउवा र मन्त्री साउदसँग पौने घण्टाको कुराकानी सकेलगत्तै प्रधानमन्त्री भेट्न माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे बालुवाटार पुगेको बताइन्छ । प्रधानमन्त्री भेट्न बिहान पौने १० बजे बालुवाटार छिरेका पाण्डेले साढे १० बजेसम्म कुराकानी गर्नुभएको हो ।

आजै प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति देउवा बारा र चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभामा भाग लिन जानुभएको थियो । नेपाली सेनाको हेलिकोप्टरमा जानुभएका उहाँहरु दुबै ठाउँको कार्यक्रममा सहभागिता जनाएर साँझ काठमाडौँ फर्किनुभएको छ ।
 

टिप्पणीहरू