प्रहरीकै सामुन्ने साथीमाथि खुुकरी प्रहार

प्रहरीकै सामुन्ने साथीमाथि खुुकरी प्रहार

-अञ्जनकुमार 

लमजुङको बेसीशहरमा खुकुरी प्रहारमा संलग्नहरुलाई अदालत पुर्याइएको छ । शुक्रबार राति साढे ८ बजेको समयमा  बेंसीसहर नगरपालिका–१० घर भइ बेनपा–७  हाइस्कुल बस्ने २५ वर्षीय रोहित तामाङलाई खुकुरी प्रहार गरेर सख्त घाइते बनाएका दुई जनालाई प्रहरीले आवश्यक अनुसन्धानको निम्ति म्याद थप्न जिल्ला अदालत लगेको बताइएको छ ।

मर्स्याङ्दी गाउँपालिका–८ उस्ता निवासी स्थानीय हाइस्कुल चोक बस्ने १८ वर्षीय विशाल घलेलाई कोठामा खाट मुनी लुकेको अवस्थामा र क्व्होलासोथर घलेगाउँ घर भइ बेसिशहरको नारायणस्थान चोक बस्ने २३ वर्षीय सुब्बा गुरुङलाई डेरा बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रकाश श्रीमलको सक्रियतामा पक्राउ परेका सुब्बा गुरुङको डेरामा खानतलासी गर्न गएका प्रहरी माथि सुब्बाकी आमाले तथानाम गाली गर्दै आफ्नो छोरो निर्दोष रहेकोमा बचाउमा उत्रेकी थिइन् । तर प्रहरीले उनको कोठाबाट केही थान लागूऔषध ट्याब्लेटसमेत बरामद भएको जनाएको छ ।

टाउको र हातमा गहिरो चोट लागेका तामाङलाई लमजुङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारार्थ काठमाडौंको मेडिसिटी अस्पताल पठाइएको जिल्ला अस्पताल लमजुङले जानकारी दिएको छ ।
खुकुरी प्रहार गरेको आरोपमा नियन्त्रणमा लिइएकाहरु विरुद्ध घाइते तामाङका मामा कृष्णबहादुर तामाङले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका हुन् । 

शुक्रबार राति सामान्य भनाभनको क्रममा मिल्ने साथीले खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रशासन चोकमा रातिको ड्युटीमा बसेका प्रहरी सामुन्ने आफ्नै साथीलाई खुकुरी प्रहार गरेर भागेका दुई युवकलगत्तै पक्राउ परेक थिए । हिजो शनिबार भएकाले उनीहरुलाई म्याद थपको निम्ति आज अदालतसमक्ष पेश गरिएको हो ।

टिप्पणीहरू