पन्ध्र अटेरी सहकारी 'कोल्याप्स'

पन्ध्र अटेरी सहकारी 'कोल्याप्स'

विराटनगर महानगरपालिकाले पाँच वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण नगराएका, साधारणसभा नगरेका र आवश्यक विवरण नबुझाएका पन्ध्र सहकारी संस्थाको दर्ता खारेज गरिदिएको छ । 

गत फागुल्न २२ गते राष्ट्रिय दैनिक पत्रिकामा १५ दिने सूचना प्रकाशित गर्दै ती सहकारीलाई साधारणसभा गर्न भनेपनि संस्थासँग सम्बन्धित कोही पनि व्यक्ति सम्पर्कमा नआएको भन्दै महानगरले दर्ता खारेजको निर्णय गरेको हो । 

सहकारी ऐन, २०७५ (पहिलो संशोधन, २०७६) को दफा २८ को उपदफा (२) बमोजिम संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने व्यवस्था रहेपनि ती सहकारीले पाँच वर्षभन्दा बढी अवधिदेखि साधारणसभा नगरेको महानगरले बताएको छ । 

त्यसैले, सोही ऐनको दफा ६७ को उपदफा (३) बमोजिम महानगरले सकृय बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पुष्पाञ्जलि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, विराट कोशेलीघर सहकारी संस्था लिमिटेड, एक्सचेन्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सहयोगी सहकारी संस्था लिमिटेडको दर्ता खारेज गरेको हो । 

त्यस्तै, भिजन फर्मा सहकारी संस्था लिमिटेड, खाटुश्याम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्यम ओम साई बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, युरो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गजलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गरिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बहुमूल्य कृषि सहकारी संस्था लिमिटेड र ऋद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पनि दर्ता खारेज भएको छ । 

महानगरले यी सहकारीले बुझाउनुपर्ने कुनै दायित्व भए सम्बन्धित व्यक्तिले प्रमाणसहित सञ्चालन समितिका पदाधिकारीसँग सम्पर्क गर्न र उक्त सहकारीको कुनै पनि कारोबार नगर्न जानकारी गराएको छ ।
 

टिप्पणीहरू