सिडिओको पिर्के सलामीले जिल्ला हल्लियो

सिडिओको पिर्के सलामीले जिल्ला हल्लियो

सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पिर्के सलामी लिएका छन् । उनलाई जिल्ला खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी खेलाडीहरूले मार्चपास गरेर सलामी दिएका हुन् ।

सिडिओले गत शनिबार लिएको पिर्के सलामीको यतिखेर व्यापक आलोचना भएको छ । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य वरिष्ठ पत्रकार देवकुमार यादवले सिडियोको पिर्के सलामी गणतन्त्रको उपहास भएको बताएका छन् । 

विश्व कहाँ पुगिसक्यो, त्यसमा पनि संघीय लोकतान्त्रिक गणतन्त्रमा पिर्के सलामीले गणतन्त्रकै उपहास गरेको उनको भनाइ छ । यादवले आफ्नो फेसबुक स्टासमा व्यङ्ग्य गर्दै लेखेका छन्, ‘जिल्लाको राजा नै हो सिडियो साहेब ।’

यादवको उक्त स्टाटसमा प्रतिक्रिया जनाउँदै प्रदेश सांसद ललिता दास (विद्रोही) ले लेखेकी छन्,  ‘हो नि ! यिनिहरूको कुनै काम छैन ।’
प्रेस काउन्सिलका पूर्व बोर्ड सदस्य एवम् पुराना पत्रकार चन्द्रदेव कामतीले पिर्के सलामी स्वाँठहरूको चिनारी भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पिर्के सलामी चाकडीको पराकाष्ठ भयो ।’

एक महिनाअघि सिरहा नगरपालिकाले आयोजना गरेको शहीद हेमनारायण यादव गोल्ड कप उद्घाटनमा पनि सिडिओ खतिवडा र मेयर डा. नवीन यादवले पिर्के सलामी लिएका थिए ।

टिप्पणीहरू