विदेशी तरकारी रोक्न किसानलाई परिचयपत्र
दाङको तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्रको व्यवस्था गरेको छ ।
उपमहानगरपालिकाले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि किसानलाई परिचयपत्र दिन लागेको हो । उपमहानगरका कृषि महाशाखा प्रमुख धनराज गौतमका अनुसार स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप सो कार्य अघि बढाइएको हो ।
उनले स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका साथै कृषकलाई उचित मूल्य दिलाउनका लागि अनिवार्य रुपमा परिचयपत्रको व्यवस्था गर्न थालिएको प्रष्ट पारे ।
‘अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ,’ उनले भने, ‘जसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकिरहेको छैन ।’ ‘यसैलाई ध्यानमा राखी स्थानीय उत्पादनको बजारीकरण गराउनुका साथै कृषकलाई उचित मूल्य मिलोस् भनेर हामीले परिचयपत्र लागू गरेका हौँ,’ उनले थपे, ‘साथै, उपमहानगरले निःशुल्क रुपमा परिचयपत्र वितरण गर्दै आइरहेको छ ।’
परिचयपत्र वितरणसँगै किसानले बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बिक्री वितरण गर्न पाउने भएका छन् ।
तर, परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न नदिइने बताइएको छ । यसका साथै कृषिजन्य वस्तुको बिक्री वितरणका लागि उपमहानगरपालिकाको वडानं. १२ मा हाटबजारको व्यवस्था गर्न लागिएको छ ।
टिप्पणीहरू