भोज खाएको निहुँमा वडाध्यक्षले छिमेकी भकुरे, तीनजना घाइते
महोत्तरीको बर्दिबासमा एक जनप्रतिनिधिले छिमेकीमाथि कुटपिट गरेका छन् । विवाह भोजको विषयमा विवाद हुँदा बर्दिबासस्थित वडा न.७ का वडाध्यक्ष राम स्वगारथ (भोरिल) यादवको निर्देशनमा स्थानीयमाथि कुटपिट भएको पीडित पक्षले बताएको छ ।
हिजो राति वडाध्यक्ष भोरिलले आफ्ना बुबा गंगा यादव र भाइहरु रामस्वगारथ र रामसुभक यादवलाई खटाएर छिमेकी चण्डेश्वर महतोमाथि कुटपिट गरेको पीडितले बताएका छन् । पीडित भनिएका चण्डेश्वरका अनुसार वडाध्यक्षका बुबा र भाइहरुले घरमा नै आएर आक्रमण गरेका हुन् । `हामी घरमा बसिरहेका थियौँ, उनीहरु एक्कासि आएर अन्धाधुन्ध आक्रमण गरे´, उनले भने ।
वडाध्यक्षले भने आफ्ना बुबा र भाइहरु घरमा गएर कुटपिट गरेको आरोप निराधार भएको दाबी गरे । आरोप लागेकामध्ये एउटा भाइ गाउँमा नै नभएको उनको जिकीर छ । `पहिलेदेखि उहाँहरुबीच झगडा भएको थियो । त्यही क्रममा अहिले भाइ ट्याक्टर चलाएर आउँदा भनाभन मात्र भएको हो´, अध्यक्ष भोरिलले भने ।
कुटपिटबाट चण्डेश्वरको टिसर्ट च्यातिएको छ भने पछाडि ढाडमा सामान्य निलडामसमेत देखिन्छ । उनका भाइ विन्देश्वर महतो र छोरा उमेश महतो पनि छुट्याउने क्रममा सामान्य घाइते भएको प्रत्यक्षदर्शी दिपलाल महतो र रामदेव महतोले बताएका छन् ।
भोरिल पक्षका अनुसार ११ वैशाखमा चण्डेश्वरकी नातिनिको विवाह भएको थियो । त्योभन्दा अगाडिदेखि चण्डेश्वर र गंगा (अध्यक्षका बुबा)बीच खासै राम्रो सम्बन्ध थिएन ।
तर, नातिनीको विवाहमा उनका छोराले भोरिल(वडाध्यक्ष)को घरमा पनि निमन्त्रणा गरे । यहीबाट चण्डेश्वर र गंगाबीच थप विवाद चुलिएको स्थानीयहरुले बताएका छन् । गंगाको परिवार किन आएर भोज खाएको भन्दै गाली, बेइज्जत गरेपछि सामान्य भनाभन भएको वडाध्यक्षले स्वीकार गरे ।
घाइते चण्डेश्वरलाई उपचारको लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । घटनाको विषयमा दुवै पक्षबीच बसेर थप अनुसन्धानलाई अगाडि बढाउने प्रहरीको भनाइ छ ।
टिप्पणीहरू