‘ढुंगा खाएको’ आरोप लागेका गोदावरीका मेयर भ्रष्टाचारमा मुछिए, अख्तियारमा उजुरी

‘ढुंगा खाएको’ आरोप लागेका गोदावरीका मेयर भ्रष्टाचारमा मुछिए, अख्तियारमा उजुरी

ललितपुरको गोदावरी नगरपालिकाका मेयर गर्जेन्द्र महर्जनमाथि भ्रष्टाचारको आरोप लागेको छ । राजश्वमा अनियमितता गरेको अभियोगमा उनीसहित अन्य पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । 

नगर कोषमा संकलन हुनुपर्ने राजश्वमा अनियमितता गरेको भन्दै मेयर महर्जन, वडा नम्बर १० का वडाध्यक्ष शेखर न्यौपाने, वनका कर्मचारी र सामुदायिक वनका पदाधिकारीविरुद्ध गोदावरी नागरिक सरोकार समूहले अख्तियारमा उजुरी हालेको हो । 

वडा नम्बर १० मा रहेको झ्यालुमटारको साविक पूर्णलालको ढुंगा खानीमा निर्माणधीन रंगशालाबाट अवैध रुपमा ढुंगा उत्खनन् गरी नगरप्रमुख महर्जनले ठेकेदारसँगको साँठगाँठमा निकासी गरिरहेको उजुरीमा दाबी गरिएको छ । झ्यालुम्टार सामुदायिक वन क्षेत्र नजिकै पर्ने ढुंगाखानीमा नगरपालिकाले रंगशाला बनाउने घोषणा गरेको थियो । झण्डै सात वर्ष हुन लागिसक्दा पनि रंगशालाको काम अघि बढ्न सकेको छैन । 

नगरप्रमुख महर्जनले रंगशाला निर्माणभन्दा पनि ढुंगा उत्खनन् र निकासीमा ध्यान दिइरहेको उजुरी पत्रमा उल्लेख छ । प्रतिस्पर्धाबाट ठेक्का खुलाएर राजस्व दाखिला हुनेगरी काम गर्नुपर्नेमा उनले उपभोक्ता समिति बनाएर ठेकेदारसँगको मिलोमतोमा खुल्लमखुल्ला लुटतन्त्र मच्चाइरहेको उजुरीकर्ताको दाबी छ । 

सरोकार समूहका अनुसार रंगशाला निर्माणको नाममा नगरपालिका र प्रदेश सरकारबाट पटक–पटक गरी दुई करोड रुपैयाँभन्दा बढी रकम विनियोजन भइसकेको छ । तर, नगरपालिकाले बजेटको बहाना बनाउँदै उपभोक्ता समिति गठन गर्ने गरेको र सोही समितिको आवरणमा फरक कम्पनीको भ्याटबिल काटेर ढुंगा निकासी गर्दै प्राकृतिक स्रोतको तीब्र दोहन गरिरहेको जिकिर गरिएको छ । 

त्यस्तै, नगरपालिकाको बोर्ड बैठकले नगरमा राजस्व संकलन भैरहेको भनि झुक्यानमा पारेको पनि उजुरीमा उल्लेख छ । ‘उपभोक्ता समिति आवरणमा देखाउने तर ठेकेदार कम्पनीको बिल काटेर गरिएको कामले कसरी नगरमा राजस्व दाखिला हुन्छ ?’, उजुरीपत्रमा भनिएको छ ।  

नगरपालिकाले गौतम कन्सल्ट्यान्स एण्ड कन्स्ट्रक्सन प्रालिको नामको बिल बिजक काटेर अमूक ठेकेदारसंगको मिलीभगतमा सार्वजनिक सम्पत्ति दोहन गरेको जानकारी गराउँदै सरोकार समूहले यस विषयमा सूक्ष्म अनुसन्धान गर्न माग गरेको छ । 
त्यस्तै, गौतमका प्रोपाइटर रमेश गौतमले सामुदायिक वनमा आफ्नो ब्रोकर र स्काभेटर लगेर दैनिक ३० देखि ४० टिपर ढुंगा निकासी गरिरहेका छन् । नगरपालिकालाई प्रतिटिपर दिनुपर्ने तीन हजार रुपैयाँको पनि कुनै बिल छैन् । 

प्रतिटिपर तीन हजारका दरले दैनिक उठनुपर्ने ९० हजार रुपैयाँ पनि हिनामिना गरिएको बताउँदै उजुरीमा त्यसमा संलग्न सबैलाई छानबिनको दायरामा ल्याउन माग गरिएको छ । वन कार्यालयका कर्मचारी र सामुदायिक वनका पदाधिकारी मौन बस्नुले प्रश्न खडा गरेको समूहको भनाइ छ । 

यता, वन समितिका सचिव रहेका वडाध्यक्ष शेखर न्यौपानेले समेत रंगशाला निर्माण उपभोक्ता समितिको अध्यक्षमा बसेर ढुंगा उत्खनन् र निकासी कार्यमा सहयोग पुर्याएको आरोप छ ।

 

टिप्पणीहरू