रवि लामिछानेका ड्राइभर बिते

रवि लामिछानेका ड्राइभर बिते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनेर चिनिने दिलबहादुर थापाको निधन भएको छ ।

उपचुनावको समयमा चितवनस्थित लामिछाने निवासको छतबाट खसेर घाइते भएका उनको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आज मृत्यु भएको बताइएको छ ।  

गत वैशाख ४ गते भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बैशाख ५ गते हेलिकप्टरमा राखेर मेडिसिटी ल्याइएको थियो । 

मेडिसिटीको आइसीयु बेड नम्बर ५६९ मा भर्ना गरिएका थापाको आज दिउँसो पौने २ बजे निधन भएको प्रहरीले जानकारी दिएको छ । 

थापा घरको छतबाट खसेको सिसिटिभीमा देखिए पनि यो आत्महत्या वा हत्या प्रयास भन्नेबारे अझै खुलिसकेको छैन । तनहुँको चुनावी कार्यक्रमबाट लामिछानेलाई लिएर फर्किएका र एउटै घरमा सुतेका उनी एकाबिहानै छतबाट खसेको घटनालाई कतिपयले शंकाको दृष्टिले समेत हेरेका छन् । 

चुनावको परिणाम प्रभावित हुने डरले अहिलेसम्म घटना लुकाइएको पनि कतिपयले आरोप लगाएका छन् ।

टिप्पणीहरू