मदन भण्डारी फाउण्डेसन पुरस्कार वितरण गर्ने

मदन भण्डारी फाउण्डेसन पुरस्कार वितरण गर्ने

मदन भण्डारी फाउण्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९’ र ‘मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ का लागि आवेदन आह्वान गरेको छ । जननेता मदन भण्डारीको नाममा स्थापित फाउण्डेशनले २०६८ सालदेखि प्रदान गर्दै आएको पुरस्कारका लागि यो वर्षको निम्ति आवेदन माग गरेको बताइएको छ ।   

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९’ आधुनिक चिकित्सा प्रविधिको माध्यमबाट नेपाली भूमिमा रहेर नयाँ र लाभदायी शल्यक्रिया प्रविधिको विकास गरेको, अंग प्रत्यारोपणका विशेष सेवाहरु (मुटु, कलेजोसम्बन्धी समस्याहरु, जन्मजात अपांगताको उपचार र महिलाहरुको पाठेघर खस्नेजस्ता समस्याको उपचार) तथा अन्य जटिल र संवेदनशील उपचारमा योगदान पुर्याएका व्यक्तित्वले पाउने छन् ।

त्यस्तै, मुलुकका दुर्गम स्थान र समुदाय केन्द्रीत रहेर गरीब, असहाय र सेवाबाट वञ्चित रहेका जनसंख्याको सहज स्वास्थ्य पहुँचमा विशेष भूमिका खेलेका व्यक्तिहरुले पनि उक्त पुरस्कारका लागि आवेदन दिन सक्ने फाउण्डेसनले जनाएको छ । 

राष्ट्रिय खेलकुद परिषद्, नेपालद्वारा मान्यताप्राप्त खेलकुदका विविध विधा र क्षेत्रका गतिविधिमा १० वर्षदेखि लगनशील र समर्पित ढंगले क्रियाशील रही सफलताका मानकहरु कायम गरेर नयाँ पुस्ताबीच खेल क्षेत्रको ज्ञानको प्रचार तथा नेतृत्व हस्तान्तरणका माध्यमबाट नयाँ पुस्ता तयार गर्ने अभियानमा योगदान पुर्याएकालाई ‘मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ प्रदान गरिने जारी सूचनामा उल्लेख छ । 

मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आउँदो असार १४ गते पुरस्कार वितरण गरिने कार्यक्रम छ । दुईवटै पुरस्कार राशी एक लाख रुपैयाँको हुनेछ । फाउण्डेसनको बेवसाइटमा उपलब्ध फाराम भरेर वा इमेलमार्फत् आगामी जेठ २५ गतेभित्र आवेदन पठाइसक्नुपर्ने बताइएको छ ।

टिप्पणीहरू