तानतुनबाट गजुरेलको उमेर नमिलेपछि कार्यविधि उल्टाइयो

तानतुनबाट गजुरेलको उमेर नमिलेपछि कार्यविधि उल्टाइयो

वाग्मती प्रदेश सरकारले योजना तथा नीति आयोगमा काँग्रेस कार्यकर्तालाई नियुक्ति खुवाउन गठन तथा कार्यसञ्चालन आदेश नै फेरबदल गरेको छ । नुवाकोटे कार्यकर्ता किरण गजुरेललाई जागिर खुवाउन आदेश नै फेरिएको बताइएको छ ।

गजुरेल विगतमा बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता एवम् आर्थिक मामिता तथा योजनामन्त्री बहादुर सिं लामाका सहयोगी थिए । उनीसँग काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सचिवालयमा रहेर छोटो समय काम गरेको अनुभव बाहेक अरु उत्पातको विज्ञता नभएको काँग्रेसीहरु नै बताउँछन् ।

तर उनै व्यक्ति नीति आयोगको सदस्य भएपछि काँग्रेसभित्र र बाहिर चर्चाको विषय बनेको छ । नुवाकोटे काँग्रेसीमाझ पत्रकार भनेर चिनिएका उनीसँग एकाध लेख छपाएको बाहेक पूर्णकालीन पत्रकारको कुनै अनुभव नरहेको पनि चर्चामा उठाइने गरिएको छ ।

दलको कार्यकर्तालाई पनि योग्यता, अनुभव र क्षमताको आधारमा राजनीतिक नियुक्ति गरिन्छ र त्यसलाई नाजायज मानिँदैन । तर गजुरेललाई नियुक्ति दिलाउन विद्यमान व्यवस्थामा उमेर र अनुभव घटाएर आदेश नै परिवर्तन गरिएपछि आश्चर्य व्यक्त गरिएको हो ।

३४ वर्षीय गजुरेललाई गत चैत २७ गतेको प्रदेश मन्त्रिपरिषद बैठकले आयोग सदस्यमा नियुक्ति गरेको जानकारी दिइएको थियो । यसअघि उक्त आयोगका उपाध्यक्ष तथा सदस्यको योग्यता ३५ वर्ष पुगेको र १० वर्ष अनुभव किटान थियो ।

गजुरेलको उमेर तानतुन गर्दा पनि ३४ वर्ष मात्रै भएपछि कार्यविधि नै फेरेर मिलाइएको बताइन्छ । कार्यविधि गत चैत २८ गते राजपत्रमा प्रकाशित गरिएको थियो । नियुक्ति लिन उमेर नपुगेपछि ३५ बाट घटाएर ३० वर्षमा झारिएको हो । विषय विज्ञताको अनुभव पनि ७ वर्षममा कायम गरिएको छ ।
 
यसअघि २०७५ सालमा बनेको कार्यविधिको दफा १२ मा पहिलो संशोधनमार्फत् उपाध्यक्ष तथा सदस्यको उमेर ४० वर्ष बनाइएको थियो । त्यसपछि गत माघमा दोस्रो पटक संशोधन गरी उमेरको मापदण्ड ३५ वर्ष बनाइयो । अहिले उक्त व्यवस्था पनि घटाएर गजुरेल भर्तिका लागि ३० वर्ष भए पुग्ने बनाइएको हो । यसअघि कार्यविधिको दफा १२ को १ र २ मा शैक्षिक योग्यता स्नातकोत्तर र १० वर्षको अनुभव उल्लेख थियो ।

गजुरेलको स्नातकोत्तर उत्तीर्ण गरेर १० वर्षको अनुभव नपुग्ने भएपछि स्नातकोत्तरभन्दा पहिलेकै अनुभवलाई समेत मान्यता दिने गरी कार्यविधि उल्टाइएको स्पष्ट भएको छ । आयोग सदस्यका लागि आवश्यक शैक्षिक योग्यताको प्रावधानमा ‘वा’ ‘वा’ थप्दै गजुरेललाई ‘म्याच’ हुनेगरी हेरफेर गरिएको हो । 

पछिल्लो संशोधनमा मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र, मानविकी, व्यवस्थापन, कानुन, सामाजिक विकास, पर्यावरण, विज्ञान इन्जिनियरिङ वा सार्वजनिक प्रशासन विधामा कम्तीमा स्नातकोत्तर गरेको र सम्बन्धित क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव हासिल गरेको वा नेपाल सरकारद्वारा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र विकास, योजना, नीति, अनुसन्धान, प्राज्ञिक वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरी विशिष्टता हासिल गरेको वा विश्वविद्यालयमा प्राध्यापक भइसकेका हुनुपर्ने बनाइएको छ ।

गजुरेलको उमेर वर्ष जोड्दा ३५ पुगे पनि दिनका हिसाबले ३४ वर्ष मात्र पुगेपछि ३५ वर्ष कायम नगरिएको स्रोतले जनाएको छ । ‘४० को त कुरै भएन, ३५ पनि नपुगेपछि ३४ वर्ष भन्न लाजमर्दो हुने भयो । बरु ३० नै ठीक हुन्छ भनेर झारिएको हो,’ स्रोतले विस्तृत विवरण उल्लेख गर्दै भनेको छ ।
 

टिप्पणीहरू