टोपबहादुरको बचाउमा एमाले अध्यक्ष

टोपबहादुरको बचाउमा एमाले अध्यक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा पार्टी सचिव तथा प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीको बचाउमा अभिव्यक्ति दिनुभएको छ ।

आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बहालवाला सांसदलाई बाटोबाटै पक्रनु रहस्यपूर्ण भएको बताउनुभएको हो । 

उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भएपनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको ओलीको दाबी छ । आफ्नो पार्टीका सचिवलाई यस प्रकरणमा तानिएको हो वा तनाइएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको भन्दै उहाँले अध्ययनपछि धारणा बनाउने पनि उल्लेख गर्नुभयो ।

यस विषयमा आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभएका ओलीले दोषी उम्कन नहुने तर, निर्दोषलाई फसाउन नपाइनेमा आफूहरु प्रष्ट रहेको जानकारी दिनुभयो । 

‘समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । यो तानेको हो की तनाएको हो भन्ने अध्ययन हामी गर्दैछौं । अध्ययन गरेपछि हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । निर्दोष पर्नु हुँदैन, दोषी उम्किनु हुँदैन । दोषी उम्काउने हाम्रो प्रयास हुँदैन । निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौं’, ओलीको भनाई छ । 

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग एमाले सचिव टोपबहादुर रायमाझीको राजनीतिक साँठगाँठ र उनका छोरा सन्दीपको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । रायमाझीका बाबुछोराबिरुद्ध हिजो पक्राउ पुर्जी जारी भएको थियो ।

सन्दीप हिजै पक्राउ परे पनि रायमाझी भने पक्राउ परे वा नपरेको प्रहरीले अहिलेसम्म जानकारी गराएको छैन । 

यस प्रकरणमा एमाले उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राई, त्यतिबेलाका गृहसचिव (हाल उपराष्ट्रपति कार्यालय) टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ पुर्जी काटिएका बादल पुत्र प्रतीक अहिलेसम्म समातिएका छैनन् । 

संगठित ठगीको यस घटनामा ठूला नेताको संलग्नता आशंका गरिएकाले अनुसन्धानमा सघाउन प्रमुख प्रतिपक्ष दलको सहयोग हुनुपर्नेमा त्यस पार्टीका अध्यक्ष घुमाउरो ढंगले आरोपितको पक्षमा उभिनुलाई धेरैले अचम्म मानेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले घुस मागेको आरोप लागेको ७२ घण्टामा आफ्ना सांसद ढाकाकुमार श्रेष्ठमाथि कारवाही गरेको ताजा उदाहरण छ । तर, ७० करोड रुपैयाँको अडियो काण्डमा तत्कालीन सञ्चारमन्त्री तथा एमाले नेता गोकुल बाँस्कोटाको बचाउ गरेकै शैलीमा अहिलेको प्रकरणमा पनि एमाले अध्यक्षको प्रतिक्रिया आएको धेरैले टिप्पणी गरेका छन् ।
 

टिप्पणीहरू