मीटरब्याजमा ऋण लगाउने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने कानुनी व्यवस्था ल्याइएको छ । सरकारले अध्यादेशमार्फत मुलुकी अपराध संहिता २०७४ को दफा २४९ मा नयाँ बुदाँ थप गर्दै मीटरब्याज लगाउनेलाई ७ वर्षसम्म जेल र ७० हजार जरीवाना हुने कानुनी व्यवस्था गरेको हो ।
‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ मा अनुचित लेनदेन गर्ने वा गराउनेलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संशोधित अध्यादेशलाई आज नेपाल राजपत्रमा प्रकाशित गरेपछि यो कानुन कार्यान्वयनमा गएको छ ।
अध्यादेशमा कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनि लिखित कागज तयार पार्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढी रकम लेख्ने, लेनदेन गर्दाकै बखतमा ब्याज रकमसमेत साँवामा जोड्ने, ब्याजलाई साँवामा जोडी नयाँ लिखित बनाउने, ऋणीले तिरेको रकमको भर्पाइ नदिने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि धम्की दिने वा शोषण गर्ने तथा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने कार्य गरेमा कारबाही गरिने व्यवस्था गरिएको छ ।
त्यस्तै, अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पुर्याउन नपाइने पनि व्यवस्था छ । लेनदेनको आधारमा ऋणीबाट रकम वा कुनै अन्य चल सम्पत्ति लिएको पाइएमा त्यस्तो रकम वा चल सम्पत्ति बराबरको रकम कसूरदारबाट भराउने पनि स्पष्ट पारिएको छ ।
ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण भएको ठहर भएमा त्यस्तो हक हस्तान्तरण बदर हुने भनिएको छ । सरकारले एक लाख रुपैयाँभन्दा बढीको लेनदेन कारोबार नगद वा घरसारमा गरेको अवस्था भएमा त्यस्तो रकम नभराइने समेत जनाएको छ । योसंगै लिखित तयार पार्दा साहु र ऋणीको तर्फबाट कम्तीमा एकएक जना साक्षी राख्नुपर्ने भएको छ ।