संसदमा पुग्यो टोपबहादुर समातिएको खबर

संसदमा पुग्यो टोपबहादुर समातिएको खबर

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ कुम्ल्याउने गिरोहमा मतियारको भूमिका खेलेको आरोपमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा पर्ने भएका छन् । 

एमालेका निलम्बित सचिवसमेत रहेका रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र प्रहरीले संसद सचिवालयलाई पठाइसकेकाले अब उनको निलम्बनको औपचारिक प्रक्रिया शुरु हुनेछ । फौजदारी अभियोगमा पक्राउ परेका सांसदलाई सभामुखले निलम्बन गर्ने कानुनी व्यवस्था छ । 

यस प्रकरणमा नाम मुछिएपछि फरार रहेका रायमाझीलाई प्रहरीले हिजो बुढानीलकण्ठबाट नियन्त्रणमा लिएको थियो । आज जिल्ला प्रहरी परिसर काठमाडौँले पत्र लेखेर त्यसको औपचारिक जानकारी संसद सचिवालयलाई गराएको हो । 

प्रहरीको पत्रमा भनिएको छ, ‘काठमाडौँ जिल्ला अदालत बबरमहल काठमाडौंबाट पक्राउ अनुमति लिई खोजतलास गर्ने क्रममा हिजो राति ८ः२५ बजेको समयमा जिल्ला काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरी यस कार्यालयको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधान, २०७२ को धारा १०३ को उपधारा (६) बमोजिम जानकारीको लागि सादर अनुरोध गरिएको छ ।’

प्रहरीको पत्र संसद सचिवालयमा पुगेसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीबमोजिम प्रतिनिधिसभाका सदस्य रायमाझी पक्राउ परेको सूचना संसद बैठकमा दिनुभएको छ ।

टिप्पणीहरू