घोकन्ते शिक्षण प्रणालीलाई बदल्न प्राध्यापकको आग्रह

घोकन्ते शिक्षण प्रणालीलाई बदल्न प्राध्यापकको आग्रह

शिक्षा नै जीवन हो । तर, कस्तो प्रकृतिको शिक्षा जीवन उपयोगी हुन्छ भनेर नियाल्न नसक्दा विद्यार्थीहरु पाठ्यपुस्कमै सीमित बनेका छन् । विद्यार्थीहरुले प्रयोगात्मक ज्ञान हासिल गर्न सकिरहेका छैनन् । विशेषतः शहरी क्षेत्रका विद्यालयमा बालबालिकालाई किताबको भारी मात्र बोकाएर घोकन्ते शिक्षा दिने गरिएको छ । 

उक्त शिक्षाबाट विद्यार्थीले राम्रो अंक प्राप्त गरेपनि जीवन उपयोगी शिक्षामा भने कमजोर पाइएको छ । यसलाई मध्यनजर गर्दै ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुस्थित एक निजी विद्यालयका प्रिन्सिपलले विद्यार्थीलाई प्रयोगात्मक र जीवन उपयोगी शिक्षा दिन थालेका छन् ।

बालकुञ्ज सेकेन्डरी स्कुलका प्रिन्सिपल सुशील बोगटी विद्यार्थीहरूलाई नयाँ ढङ्गबाट पढाउन चाहन्छन् । उनले यसका लागि आफ्नो कोशिस जारी राखेका छन् । विगत २३ वर्षदेखि प्राध्यापन पेशामा संलग्न उनले शिक्षक हुँदै प्रिन्सिपलसम्मको यात्रा तय गरेका हुन् । शिक्षण क्षेत्रमा धेरै अनुभव बटुलेका उनी विद्यार्थीमा भएको आफ्नै खालको क्षमतालाई प्रस्फुटन गराउनेतर्फ बल गर्नुपर्ने बताउँछन् । 

शिक्षकको घरमा जन्मिएका उनले आफ्नै अभिभावकको पेशालाई प्रोत्साहन गरेका हुन् । उनी भन्छन्, ‘परिवार नै यही पेशामा भएकाले होला, मलाई पनि यही क्षेत्रमा रुची लाग्यो । दिनभर पढाउँदा पनि म थाक्दिन ।’ उनले आफूसँग भएको ज्ञान अन्य विद्यालयका प्रिन्सिपललाई पनि बाँड्ने गरेका छन् । 

‘ट्यालेन्ट किताबी ज्ञान र भाषामा मात्र नभएर समाज, परिवार र आफूलाई समेत सही ढङ्गमा लैजानसक्ने क्षमता विकास हुनुपर्यो’, उनले भने, ‘विद्यार्थीमा सबैभन्दा बढी जुन कुराको लगाव छ । त्यही कुरालाई शिक्षकले पहिचान गरी उहीतर्फ मोड्नुपर्छ । अनि मात्र विद्यार्थीले आफूमा भएको क्षमताको फरक आभास गर्न पाउँछन् ।’

त्यस्तै, उनले निजी विद्यालयलाई सरकारी तवरबाट अनुमति दिनेबाहेक अन्य सहयोग नभएकोमा आपत्ति जनाएका छन् । सरकारले नीति नियम बनाएर सरकारी र निजी विद्यालयका शिक्षकलाई तालिमको निश्चित समय तोकिदिनुपर्नेमा उनको जोड छ । यसो गरेमा शैक्षिक उत्थानमा टेवा पुग्ने उनी बताउँछन् ।

टिप्पणीहरू