केपी ओलीलाई 'बा' भन्ने सांसदले कांग्रेस महामन्त्रीलाई प्रचण्डको पुच्छर भनेपछि हङ्गामा

केपी ओलीलाई 'बा' भन्ने सांसदले कांग्रेस महामन्त्रीलाई प्रचण्डको पुच्छर भनेपछि हङ्गामा

नेकपा एमालेका सांसद दयालबहादुर शाहीले काँग्रेस महामन्त्री तथा सांसदद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै किटेर लाञ्छना लगाएपछि आजको प्रतिनिधिसभा बैठकमा लफडा भएको छ । 

कांग्रेसका प्रभावशाली नेता थापा,शर्मा र पाण्डे बीपीको सिद्धान्त छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुच्छर बनेको शाहीले आरोप लगाएपछि सत्तापक्षका सांसदले कडा प्रतिवाद गरेका छन्  । 

प्रतिनिधिसभामा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शाहीले व्यक्तिको नाम तोकेर असंसदीय भाषा चयन गरेको भन्दै काँग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाएपछि लफडा चर्किएको हो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खुशी तुल्याएवापत समानुपातिक सांसद बनेको आरोप लागेका शाहीले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले 'गहतको झोलमा जात फालेको' सम्म भन्न भ्याएका थिए ।

‘महामन्त्रीहरु गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेहरुलाई अलिकति पनि संकोच लागेन ? सत्ता स्वार्थका लागी बीपीको सिद्धान्त छोड्ने ? कांग्रेसका द्धिगज नेताहरु प्रचण्डको पुच्छर हुनु भएकोमा चिन्ता लागेको छ’, शाहीको आरोप थियो ।  

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न समय  लिएर पोडिएममा उभिएका शाहीले विषयान्तर गरि आफ्ना सांसदमाथि आरोप लगाएपछि कांग्रेस सांसद न्यौपानेले नियमापत्ति जनाइन् । उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउन उनले माग गरिन्।

सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले नियमापत्तिमा ध्यानाअकर्षण भएको भन्दै सांसद शाहीलाई बोल्न संकेत गरिन् । तर, सत्ता पक्षीय सांसदले रेकर्डबाट हटाउनुपर्ने भन्दै निरन्तर नाराबाजी गरेपछि उनले रेकर्डबाट हटाउन निर्देशन दिइन् ।

टिप्पणीहरू