रवि लामिछाने सांसद बन्न योग्य नरहेको जिकिरसहितको रिट सर्वोच्चमा दर्ता, १७ गते सुनुवाई

रवि लामिछाने सांसद बन्न योग्य नरहेको जिकिरसहितको रिट सर्वोच्चमा दर्ता, १७ गते सुनुवाई

सर्वोच्च अदालतको फैसलाले सांसद पद गुमेपछि पुन: उपचुनबाट चुनिएर आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि कानुनी झमेला आइलागेको छ। 

अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ कायम नरहेको नागरिकताको प्रतिलिपी राखेर लामिछानेले उम्मेदवारी मनोनयन गराएर सांसद निर्वाचित भएको जिकिरसहितको रिट आज सर्वोच्चमा दर्ता भएको छ । उम्मेदवारी नै गलत ढंगले दिएकाले लामिछानेको  प्रतिनिधिसभा सदस्य पद खारेजी गर्न मागदाबी गरिएको रिट दर्ता भएको हो। 

युवराज पौडेल सफलले दिएको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर, हिजो प्रशासनको निर्णय बदर गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता प्रक्रिया गरी अघि बढाउन आदेश दिएको थियो । 

उक्त आदेशपछि आज रिट दर्ता भएको हो । सो रिटमाथिको सुनुवाइ १७ जेठका लागि तोकिएको छ । अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुनः प्राप्तिका लागि प्रक्रिया पूरा नगरी कायम नरहेको नागरिकताको प्रतिलिपी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट लिएर निर्वाचित भएको प्रतिनिधिसभा सदस्य बन्न लामिछाने अयोग्य रहेकाले बदरको माग रिट निवेदनमा गरिएको छ । 

यसअघि सर्वोच्चले नागरिकता त्यागको निस्सा माग्दा काठमाडौँ जिल्ला प्रशासनले आफूसँग त्यससम्बन्धी कागजात नभएको जानकारी गराएको थियो ।

टिप्पणीहरू