पूर्वका पहिचानवादीहरुलाई संयमता अपनाउन आयोगको आग्रह

पूर्वका पहिचानवादीहरुलाई संयमता अपनाउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले कोशी प्रदेशको नामाकरणको विषयमा भइरहेको प्रदर्शनलाई हिंसात्मक नबनाउन आग्रह गरेको छ । 

आयोगले आफ्ना माग विधिसंगत, शान्तिपूर्ण र मर्यादित ढंगले राख्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार प्रभावित हुने गतिविधि नगर्न तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन प्रदर्शनकारीलाई अनुरोध गरेको हो । 

यसअघि गत चैत १७ गते विज्ञप्तिमार्फत विरोध प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बु (पदम लिम्बू) का परिवारलाई क्षतिपूर्ति दिन, मृत्युको घटनामा संलग्न दोषीलाई कारबाही गर्न र प्रदर्शनलाई हिंसात्मक नबनाउन आयोगले आग्रह गरेको थियो । 

तर, जेष्ठ १४ गते विराटनगरमा भएको प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएको र घाइतेमध्ये १२ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, २४ जनाको कोशी अस्पताल र एक जनाको विराट नर्सिङ होममा उपचार भइरहेको आयोगले प्रकाशित विज्ञप्तिमा जनाएको छ । 

झडपका क्रममा १६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी घाइते हुँदा प्रर्दशनकारीतर्फ २० जना घाइते भएका थिए । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सो समयमा प्रहरीले स्थिति नियन्त्रणमा लिन माइकिङ, पानीको फोहरा तथा ९१ राउण्ड अश्रुग्यास प्रयोग गरेको जानकारी प्राप्त भएको बताएका छन् । 

उनका अनुसार प्रर्दशनकारीहरुले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ढुंगा, इंटा प्रहार गर्दा मन्त्रालयका झ्यालका सिसा फुट्नुका साथै कर्मचारी बस्ने कुर्सी र स्वास्थ्य मन्त्रालयमा राखिएको एउटा गाडीको सिसा समेत फुटिएको पाइएको छ । 

आयोगले आफ्ना माग राख्दा विधिसंगत, शान्तिपूर्ण र मर्यादित ढंगले राख्न उल्लेख गर्दै प्रदर्शनलाई हिंसारहित तथा शान्तिपूर्ण बनाउन तथा वार्ताका माध्यमबाट समाधान खोज्नका लागि सार्थक भूमिका निर्वाह गर्न राजनीतिक दलहरुलाई पनि अनुरोध गरेको छ ।

टिप्पणीहरू