टीकापुर नरसंहारमा दोषी ठहर भएपछि जन्मकैद सजाय भुक्तान गरिरहेका चौधरीलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा हिजो आममाफी दिएपछि चौतर्फी विरोध भएको छ । चौधरी सदरखोर डिल्लीबजारबाट आज बिहान बाजागाजासहित बाहिर निस्केका छन् ।
मन्त्री तथा पत्नी एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको गाडीमा बसेर सैनिक सुरक्षाकर्मीसहित झण्डा हल्लाउँदै उनी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगे । बिहान सवा ११ बजेको उडानमा उनी नेपालगञ्ज हुँदै कैलाली गएका छन् ।
यता सरकारले काठमाडौंको टुँडिखेलमा १६औं गणतन्त्र दिवस मनाएको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा गणतन्त्र दिवस मनाइएको हो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको उपस्थिति थियो ।
कार्यक्रमका अवसरमा टुँडिखेलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो । तर, चौधरीको १५ वर्ष बाँकी कैद मिनाहा गरिएको सन्दर्भमा सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक भएका तस्बिर र समाचारले आजको गणतन्त्र दिवसलाई ओझेलमा पारेको हो ।



















































