पर्यटकीय नगरीमा जताततै फोहोरको थुप्रो (फोटोफिचर)

पर्यटकीय नगरीमा जताततै फोहोरको थुप्रो (फोटोफिचर)

- भद्रगोल किराती

नेपालको ६ वटा महानगरमध्ये ललितपुर महानगर पनि एक हो । इतिहास, कला, संस्कृतिको शहर भनेर चिनिने ललितपुर पर्यटकीय क्षेत्र हो । यसलाई कलाको शहर पनि भनिन्छ । पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत छ । 

मल्लकालीन दरबार, शिल्पकलाको उत्कृष्ट नमूना हो, ललितपुर । यहाँ रहेको कृष्ण मन्दिर शिखर शैलीको अर्को अमूल्य सम्पदा हो । यहाँको धातुकला, पत्थरकला र मूर्तिकला पर्यटकहरुको प्रमुख आकर्षणमा पर्दछ । ललितपुरलाई परम्परागत नेवारी हस्तकला र मूर्तिहरुको केन्द्र पनि मानिन्छ । 

ढुङ्गा र धातुको शहर ललितपुरमा त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ्ग क्याम्पसदेखि अनेकौं चर्चित कलेज, विद्यालय, मन्त्री निवास, कर्मचारी प्रशिक्षण प्रतिष्ठानलगायतका सरकारी कार्यालयहरु रहेको छ ।मुलुकको राजधानी काठमाडौंसँगै जोडिएको ललितपुर सफा शहरमा गनिन्छ ।

 

आन्तरिक सफाइमा सुधार भएपनि महानगर व्यवस्थित भने बन्न सकेको छैन । एकदमै चाप हुने लगनखेल बसपार्कमा एउटा डस्टबिन पनि छैन । बस स्टपहरुमा यात्रु प्रतिक्षालय र बेञ्चहरु राखिएका छन् ।  तिनै यात्रुहरुबाट उत्पादित फोहोर राख्ने डस्टबिन नहुँदा पानीका बोतलहरु, पेय पदार्थका बोतलहरु, खानेकुराका खोलहरु जथाभावी फ्याँकिएको छ । 

जसका कारण शहरको सुन्दरतामा दाग लागेको छ । महानगरले सडक किनारमा रुख–विरुवा, ठूल्ठूला गमलाहरुमा फूल रोपेको छ । ती गमला वरिपरि आवश्यक ठाउँमा डस्टबिनहरु नहुँदा यात्रुहरुले गमलामै फोहोर फ्याँक्ने गरेका छन् । 

आकाशे पुलहरुको छेउतिर चुरोट, चक्लेट, पराग, गुट्खा आदिको खोलहरु जथाभावी देखिन्छ । नागरिकहरुको भीड हुने स्थानहरु चोक, पार्क, पुल, बसपार्क, मुख्य बजारहरु, कलेज, विद्यालय वरपर डस्टबिन राखेमा शहर सफा बन्न सक्छ । 

सडक–चोकमा जथाभावी फोहोर फ्याँक्नमा सर्वसाधारण दोषी छन् । महानगरको जिम्मेवारी लिएका जनप्रतिनिधि, कर्मचारी, सरोकारवालाको पनि कमजोरी देखिन्छ । एउटा डस्टबिनसमेत राख्न नसक्नुभन्दा लज्जास्पद कुरा के होला ।

 

कृष्ण मन्दिर परिसरमा तीन ठाउँ र ललितपुर जिल्ला अदालत छेउको सानो पार्कबाहेक सार्वजनिक स्थलमा कहीँकतै डस्टबिन भेटिँदैन । पाटन ढोकास्थित पाटन हाई स्कुलको सौजन्यमा एउटा प्लास्टिकको डस्टबिन राखिएको छ । 

पाटन क्याम्पस नजिकैको बसपार्कसँगै सार्वजनिक शौचालयबाहिरको डस्टबिन पनि महानगरले राखेको होइन । त्यहाँ कार्यरत फरक क्षमता भएकी कर्मचारी कविता महर्जनले महानगरले नभई व्यक्तिले डस्टबिन राखेको जानकारी दिइन् । 

पुल्चोक क्याम्पसको नजिकै सडक विभागको कार्यालय छ । त्यसको दायाँबायाँ फोहोरको थुप्रो देखिन्छ । क्याम्पसबाहिर त्यस्तो छ भने भित्रको हालत के होला ? विभागबाट कुपण्डोलतर्फ जाँदा बाँया तर्फको नालीमा एक ट्रयाक्टरजति फोहोर छ । सडक नालीसँगै चर्चित कलेजहरु छन् ।

 

हालैसालै उद्घाटन भएको ग्वार्को फ्लाईओभर वरपर पनि फोहोरैफोहोर छ । महानगरको पूर्वी सीमानामा रहेको कर्मनासा खोला नजिकैका पुल वरिपरि पनि फोहोरका पोकापोकीले स–सानो ढिस्कनो बन्न लागेको छ ।

आलिशान महलहरुमा बस्नेहरुले जथाभावी फोहोर फ्याँकेर टोल, समाज, सडक, खोला, ढुङ्गेधारा, सार्वजनिक स्थलआदि दुर्गन्धित पार्ने काम गरिरहेका छन् । महानगरले सार्वजनिक स्थलहरुमा यथाशीघ्र डस्टबिन राख्ने र सार्वजनिक यातायातमा झोला राख्ने व्यवस्था गर्ने हो भने सडक सुन्दर र दुर्गन्धमुक्त बन्न सक्छ ।

टिप्पणीहरू