मेयरसहित तीन जनाको सम्पत्ति रोक्का

मेयरसहित तीन जनाको सम्पत्ति रोक्का

-राजेशचन्द्र राजभण्डारी

सयौं बचतकर्ताले सहकारीमा जम्मा गरेको करोडौं रूपैयाँ अपचलन गरेपछि बेपत्ता भएका बागलुङको ढोरपाटन नगरपालिकाका मेयरको सम्पत्ति रोक्का गरिएको छ । इमेज बचत तथा ऋण सहकारीका अध्यक्ष रहेका देवकुमार नेपालीसहित तीन जनाको सम्पत्ति रोक्का भएको जनाएको छ ।

बचतकर्ताको दबाबपछि अध्यक्ष नेपालीको नाममा बागलुङ सदरमुकामसहित बुर्तिबाङ बजारमा रहेका घरजग्गा रोक्का गरिएको हो । नेपालीसँगै उनकी श्रीमती छेला नेपाली र सञ्चालक चित्रबहादुर भण्डारीको नाममा रहेको घर जग्गा पनि रोक्का भएको छ ।

सहकारीको करोडौं रुपैयाँ हिनामिनापछि फरार भएकाले गण्डकी प्रदेश सहकारी विभाग तथा पोखरा महानगरपालिको सहकारी शाखाले भूमि व्यवस्था तथा अभिलेख विभागको अनुरोधमा विभागले जिल्ला मालपोत कार्यालय, बागलुङ र बुर्तिवाङलाई पत्राचार गरेको थियो ।

सहकारी अध्यक्ष नेपाली, श्रीमती छेला र सञ्चालक भण्डारीको नाममा रहेका सवै घरजग्गा रोक्का गरिएको मालपोत कार्यालय बुर्तिवाङका प्रमुख सूर्यप्रसाद शर्माले जानकारी दिए ।

भूमि व्यवस्था विभागबाट जेठ ९ गते पत्र प्राप्त भएको र ११ गते घर जग्गा रोक्का राखिएको उनको भनाई छ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्वर १, २ र ३ मा रहेका अध्यक्ष नेपालीको २२ कित्ता, श्रीमती छेलाको नाममा रहेका ७ कित्ता र चित्रबहादुरको नाममा रहेको १२ कित्ता घर जग्गा रोक्का गरिएको हो । 

यस्तै देवकुमार नेपालीको नाममा बागलुङ नगरपालिका २ हल्लन चोकको ४ कित्तामा रहेका दुई वटा घर पनि रोक्का गरिएको छ । केन्द्रको पत्रानुसार अध्यक्ष नेपालीको नाममा रहेका बागलुङ बजारका घर, जग्गा रोक्का गरिएको मालपोत कार्यालय बागलुङका प्रमुख राजेन्द्रप्रसाद पौडेलले बताए । 

नेपालीले बागलुङ बजार र बुर्तिवाङ बजारमा रहेका धेरैजसो घर जग्गा विभिन्न बैंकमा धितो राखेर कर्जा निकालेकाले यसअघि नै रोक्का थियो । अध्यक्ष नेपाली र अन्य सञ्चालकहरुको सेयर तथा बैंक खाता पनि रोक्का गरिएको छ । गण्डकी प्रदेश सहकारी विभागले गत शुक्रबार अध्यक्ष नेपालीसहित अन्य सञ्चालकहरुको नाममा रहेको घर जग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न भूमि व्यवस्था विभाग, नेपाल राष्ट्र बैंक तथा धितो पत्र बोर्डमा पत्राचार गरेको थियो ।

सहकारीका अन्य सञ्चालकहरु डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरु रुपा विक र झगबहादुर शाहीको पनि घरजग्गा, सेयर तथा बैंक खाता रोक्का गर्न प्रक्रिया सुरु भएको जानकारी दिइएको छ ।

अध्यक्ष नेपालीले सहकारीको रकम हिनामिना गरेर आफ्नो र परिवारको नाममा खरिद गरेको भवन, जग्गासमेत गैरकानुनी तरिकाले अरुको नाममा पास गरिएको पाइएको छ । सहकारी संस्था आर्थिक रुपमा धरापमा परेको बेलामा केही बचतकर्ताको नाममा जग्गा पास गरेर नियम विपरी काम गर्दासमेत प्रहरी प्रशासन, स्थानीय सरकार मुकदर्शक बनेको सहकारी पीडितहरूको गुनासो छ ।

टिप्पणीहरू