बजेटको विरोधमा कर्मचारीहरुले थाल ठटाउने

बजेटको विरोधमा कर्मचारीहरुले थाल ठटाउने

सरकारले आफूहरुलाई विभेदपूर्ण व्यवहार गरेको भन्दै असन्तुष्ट नेपाल विद्यालय कर्मचारी परिषद्ले थप आन्दोलनका कार्यक्रम अघि सारेको छ । 

सरकारसँग विभिन्न माग राखी विगत लामो समयदेखि संघर्ष गर्दै आएको परिषद पछिल्लो समय बजेटको बिरोधमा आन्दोलित हुँदै आएको छ । सोहीअन्तर्गत परिषदले आइतबार काठमाडौँमा थाल ठटाएर र्याली निकाल्ने तयारी गरेको छ । 

आगामी जेठ २८ गते खालि थाल ठटाएर सरकारको विरोध गर्न लागेको परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए । त्यस दिन बिहान १० बजे नयाँ बानेश्वरबाट थाल ठट्याउँदै माइतीघर मण्डलासम्म र्याली निकालिने उनले जानकारी दिए । 

सरकारले विद्यालय कर्मचारीलाई आश्वासन दिने तर कार्यान्वयन नहुने स्थिति देखिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको तिवारीको भनाइ छ । गत भदौ १ गतेदेखि पटक-पटक आन्दोलन गर्दापनि आफ्ना मागहरु पूरा हुन नसकेको उनले गुनासो पनि गरे । 

‘हामीहरु निरन्तर आन्दोलनमा छौं । सरकारसंग विद्यालय कर्मचारीको तलब बढाउन, अस्थायी कर्मचारीलाई स्थायी गर्न पटकपटक माग गरिसकेका छौं । तर, हामीहरुलाई आश्वासन दिने काम मात्र भयो, त्यसैले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो’, उनले भने । 

बजेटले शिक्षक तथा विद्यालय कर्मचारीमा उत्साह ल्याउन नसकेको उल्लेख गर्दै तिवारीले सरकारले बेइमानी गरेको आरोप लगाएका छन् । विगतमा गरेका एउटा पनि सम्झौता बजेटमार्फत सम्बोधन नभएको उनको भनाइ छ । 

 
त्यस्तै, शिक्षक अस्पताल निर्माणका लागि बजेट विनियोजन नगरिएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले निरन्तरता नपाएको, खाजाको अनुदान अपर्याप्तबारे मौन रहेकोलगायत विषयमा परिषद्ले विमति राख्दै आएको छ ।
 

टिप्पणीहरू