सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

सूर्यविनायकका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

भक्तपुरको सूर्यविनायक नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलबविहीन भएका छन् । 

बजेट अभावले संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ७० जना स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलव खान नपाएका हुन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईले चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको बताए । 

उनका अनुसार नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, विभिन्न स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले गत माघ महिनादेखि तलब पाएका छैनन् । त्यस्तै, नगरपालिकाले करार तथा ज्यालादारीमा राखेको कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको चापागाईले जानकारी दिए । 

‘नगरपालिकाले करार सेवामा नियुक्त गरेका कर्मचारी एंव स्वास्थ्यकर्मीले नियमित तलब पाइरहेका छन्,’ उनले भने, ‘तर, संघीय सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब नपाउँदा घर खर्च चलाउन समस्या परेको छ ।’

नगरपालिकाका लेखापाल महेश भट्टराईका अनुसार संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका स्वास्थ्यकर्मीका लागि मासिक ४२ लाख रुपैयाँ तलबमा खर्च हुने गर्छ । तर, सरकारले बजेट नपठाउँदा उनीहरुले तलब नपाएको उनको भनाइ छ । 

‘स्वास्थ्यकर्मीलाई तलब खुवाउनका लागि रकमको माग गर्दै नगरपालिकाले गत पुस महिनामा स्वास्थ्य मन्त्रालयमा पत्राचार समेत गरिसक्यो,’ उनले भने, ‘तर, सरकारले अहिलेसम्म रकम पठाएको छैन ।’

टिप्पणीहरू