सरकारले नै जनता भड्काइरहेको एमाले अध्यक्षको आरोप

सरकारले नै जनता भड्काइरहेको एमाले अध्यक्षको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई उचालेर एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाउनुभएको छ । आज पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गने क्रममा उहाँले उक्त धारणा राख्नु भएको हो ।

पार्टी कार्यालय, च्यासलमा अन्य पार्टी छाडेर एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले सरकारमाथि आक्रमणको सहयोगी बनेको आरोप लगाउनुभएको हो ।

उहाँको भनाई छ, ‘पहिचानवादीका नाममा एमालेमाथि देशभर हमला भइरहेको छ । कोशी प्रदेशमा सत्ता संरक्षित अपराधिक घटनाहरु भइरहेको छ । पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको छ ।’ तर सरकारको उक्त रवैयाको  एमालेले प्रतिवाद गर्ने उहाँको भनाई छ । 

मुलुकलाई पुनः जातीय दंगाफसादमा फसाउने षड्यन्त्र गर्दैप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पहिचानको विष फैलाउने कोशिस गरेको अध्यक्ष ओलीको भनाई छ । ‘पहिचानवादको संरक्षक पुष्पकमलवादीहरु हुन् । प्रचण्डपथ देशद्रोही र अपराधीपथ हो,’ ओलीले भन्नुभयो ।

पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भएपनि सरकारले केही नगरेको एमालेको निश्कर्ष छ । प्रहरीलाई टाउको फुटेपनि केही नगर्नु भनेकाले पहिचानका नाममा एउटै व्यक्ति सबैतिर पुग्ने गरेको उहाँले दाबी गर्नुभयो । 

अध्यक्षले भन्नुभयो, ‘केपी ओली निषेध, एमाले निषेध के के निषेध । अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, अपराधिक घटनाहरु भइरहेका छन् । आफैँले आफ्नै मान्छे मारे शुरुमै । हामीमाथि हमला भयो, कहिले बन्द भनेके छ, कहिले तोडफोड, कहिले अनेक छ ।’

एमाले केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य राम रानालाई मोबिल छर्किएर आगो लगाउन खोजिएको कार्यक्रममा जानकारी गराइएको थियो । प्रधानमन्त्री प्रचण्डहरुको पूर्वमा हिंसा भड्काउन प्रत्यक्ष संलग्नता रहेको बताइन्छ । पहिले प्रदेशको नाम कोशी राख्नेमा सहमति जनाउने तर पछि गल्ती भयो भनेर पुनःविचार गर्ने नाममा मान्छे भड्काइएको एमालेको निचोड हो । उहाँले भन्नुभयो, ‘प्रचण्ड भनेको एक छिनमा पहिचानवादी, एक छिनमा राष्ट्रियतावादी हो । अनि एकछिनमा फाटोवादी, एकछिनमा तमासा । अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने बेला आएको छ ।’
 

टिप्पणीहरू