केपी ओलीको आलोचनापछि आज गृहमन्त्रीको वाचा-अराजकलाई छोड्दिन

केपी ओलीको आलोचनापछि आज गृहमन्त्रीको वाचा-अराजकलाई छोड्दिन

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गर्ने बताउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्षले पूर्वमा आन्दोलनरत पहिचान पक्षधर समूहले आफ्ना नेता-कार्यकर्तामाथि आक्रमण गरेको र त्यसमा सरकारको समेत समर्थन देखिएको दावी गरेपछि त्यसमा प्रष्ट पार्दै गृहमन्त्रीले यस्तो बताउनुभएको हो । आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले कोशी प्रदेशमा भएका पछिल्लो घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिबध्दतासमेत जनाउनुभएको छ ।

हिजोमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा सत्तारुढ माओवादी केन्द्रले 'गुण्डागर्दी' चलाएको भन्दै प्रधानमन्त्री प्रचण्डको चर्को बिरोध गर्नुभएको थियो । सो क्रममा उहाँले त्यस्ता तत्वविरुध्द आक्रमणमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशनसमेत दिनुभएको थियो । 

कोशी प्रदेश नामाकरणको विपक्षमा रहेका पूर्वी नेपालका विभिन्न जातीय संघ संगठनहरु लामो समयदेखि आन्दोलित छन् । एमाले अध्यक्ष ओलीको अगुवाइमा कोशी नाम राखिएको भन्दै आन्दोलनकारीले एमाले नेता कार्यकर्तामाथि शृंखलाबध्द आक्रमण गरिरहेका छन् । केही समयअघि गृहजिल्ला झापामै ओलीमाथि समेत आक्रमण प्रयास भएको थियो ।
 

टिप्पणीहरू