पशुपतिको जलहारी घोटालाकाण्डले फेरि ततायो संसद

पशुपतिको जलहारी घोटालाकाण्डले  फेरि ततायो संसद

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा बोलेका कुरा रेकर्डबाट हटाउने परम्परा अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै उनले पशुपतिको जलहरी प्रकरण उठेको विषय रेकर्डबाट हटाइएको भन्दै आपत्ति जनाएका छन् । गत जेठ १३ गते नेकपा माओवादी सांसद लेखनाथ दाहाल 'राजन' ले पशुपति मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाई तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको प्रसंग उठाएका थिए । तर,एमालेको चर्को विरोधपछि उनको उक्त भनाई संसदको रेकर्डबाट हटाइएको थियो । 

एमालेका सांसदहरुले आफ्ना अध्यक्षलाई भ्रष्टाचारी भन्न पाइँदैन भन्दै लफडा झिकेपछि शीर्ष नेताहरु बसेर दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति गरेअनुसार भोलिपल्ट बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले रेकर्डबाट हटाउन संसद सचिवालयलाई निर्देशन दिएसँगै यो विषय मिलेमतोमा छोपछाप पारिएको थियो । तर, आज सांसद खतिवडाले पुन: जलहारीमा भएको भनिएको घोटाला छानविन गर्न संसदमा माग गरेका छन् ।  

संसदको रेकर्डबाट जतिचोटी हटाए पनि यो विषय उठिरहने उनले बताए । छानविन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्नेमा बहस गर्नै रोक लगाइएकोप्रति उनले चर्को आपत्ति प्रकट गरे ।  

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाइयो तर पछि त्यसलाई संसदको रेकर्डबाट हटाउने काम भयो,यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर,संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनबाट हटने छैन ।’ 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पशुपति मन्दिरको गजुरमा सुनको जलहारी बनाइएको थियो । जलहारीमा १०७.९२४ ग्राम सुन प्रयोग गर्ने भनिए पनि ९६ किलो ८०० ग्राम मात्र प्रयोग भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । 

सांसद दाहाल र खतिवडाले कागजमा हराएको १० किलो ९७६ ग्राम सुन बेपत्ता भएको विषयमा छानबिन हुनुपर्ने बताएका हुन् ।

टिप्पणीहरू