बिहार,युपीतिर काउण्टरमा छाए बालेन

बिहार,युपीतिर काउण्टरमा छाए बालेन

काठमाण्डूका मेयर बालेन्द्र साह अर्थात् ‘बालेन’ले सामाजिक सञ्जाल र भारतीय मिडियामा फेरि एकपटक हलचल मच्चाएका छन् ।भारतले नयाँ संसद भवनमा नेपाली भूमि ‘लुम्बिनी–कपिलवस्तु’समेत समेटिएको नक्सा झुन्ड्याएपछि कथित ‘अखण्ड भारत’को काउन्टरमा उनले ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका छन् ।नेपालतिर ‘बालेनशैली’को खूब चर्चा भएपछि भारतीय ‘हिन्दू–राष्ट्रवादी मिडिया’ बालेनमाथि खनिँदैछन्।

‘काठमाण्डूका मेयरले यूपी–बिहारमाथि ठोके दावी,आफ्नो कार्यालयमा राखे ग्रेटर नेपालको नक्सा’जस्ता सनसनीपूर्ण हेडलाइन मेयर बालेनको नाउँमा खर्चिरहेका छन्। भारतको सबैभन्दा लोकप्रिय हिन्दी भाषाको दैनिक पत्रिका दैनिक भास्करले ‘अखण्ड भारतको विरोधमा ग्रेटर नेपालको नक्साः काठमाण्डूका मेयरके लगाए नक्सा, हिमाचल–बंगालको केही भागलाई नेपालको क्षेत्र बताए’ शीर्षकमा बालेनको तस्बिरसहित अनलाइनमा समाचार छापेको छ ।

समाचारमा बालेनसहित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बुधबार संसदमा उठाएको ‘ग्रेटर नेपाल’को विषयलाई समेत उल्लेख गरिएको छ। त्यस्तै, नवभारत टाइम्सले ‘हिमाचल,युपी, बिहार...‘ग्रेटर नेपाल’ में दिखाया भारतीय इलाका, नेपालसे लेकर भारत तक उबाल, आपनों ने घेरा’ भन्दै उस्तै प्रकारको समाचार छापेको छ।

भारतीय मिडिया ‘एबीपीलाइभ, इन्डियाटिभी, प्रभासाक्षी, पूर्वाचल मिडिया, ईनवभारत’ लगायतले बालेन साह र ग्रेटर नेपालको चर्चा–परिचर्चा गरिरहेका छन् । भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीले निर्वाचन लक्षित सस्तो लोकप्रियताका लागि भारतको नयाँ संसद् भवनभित्र झुन्ड्याएको कथित अखण्ड भारतबारे नेपाल सरकार र प्रधानमन्त्री प्रचण्ड मौन रहेका बेला मेयर बालेन भने भारतीय मिडियामा एकछत्र छाइरहेका छन् ।

टिप्पणीहरू