युवराज सफलको माल्दिभ्स कमाण्डले भन्यो ‘हजारौं नेपाली अलपत्र छन्’

युवराज सफलको माल्दिभ्स कमाण्डले भन्यो ‘हजारौं नेपाली अलपत्र छन्’

रवि लामिछानेको दोहोरो नागरिकता र दोहोरो राहदानीको विषयलाई सर्वोच्च अदालतसम्म पुर्याएर कानुुनी चुनौती दिँदै आएका युवराज सफलले माल्दिभ्समा चार हजार नेपाली अलपत्र रहेको बताएका छन् । उनले ती नेपालीको उध्दारका लागि गृह र परराष्ट्रमन्त्रीलाई लिखित जानकारी पनि गराएका छन् । 

नेपाल समाजवादी मोर्चाका संयोजक सफलले परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हिजो बुझाएको ज्ञापनपत्रमा माल्दिभ्समा नेपाली दूतावास खोल्न र अलपत्र नेपालीको उद्धारको निम्ति आग्रह गरिएको छ । आफ्नो पार्टीको इन्टरनेशनल इण्टेलिजेन्स ब्युरोको माल्दिभ्स कमाण्डलाई उल्लेख गर्दै उनले लेखेका छन्, ‘तीनदेखि चार हजार नेपाली माल्दिभ्समा अलपत्र छन् ।’

बिचौलियाहरुले दुई लाख ६० हजारसम्म असुलेर आकर्षक तलबको प्रलोभनमा नेपाली युवालाई माल्दिभ्स पुर्याई अलपत्र पारेको,ती श्रमिकले जम्मा ३६ हजार रुपैयाँ मात्र तलब पाएको सफलको दाबी छ । उनीहरु खर्च अभावमा आकाशबाट परेको पानी खान बाध्य भएकोसमेत उनको निवेदनमा उल्लेख छ ।


 

टिप्पणीहरू