एक झूठ लुकाउन अरु थुप्रै झूठ

एक झूठ लुकाउन अरु थुप्रै झूठ

एउटा कीर्ते सच्याउन सयौँ कीर्ते गर्नुपर्ने । अहिले त्यही दुःख आइलागेको छ, सेलिब्रिटी मन्त्री सुदन किरातीलाई । 

फागुन २ मा गरिएको कीर्तेले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती मात्र होइन, कीर्ते हस्ताक्षरको भरमा नियुक्ति खाएका प्राज्ञहरूको टाउको दुखाइ शुरु भएको छ । दुई साताअघि जनआस्थाले यस विषयमा प्रमाणसहित समाचार प्रकाशन गरेको थियो । गत २ फागुनमा मन्त्री पूर्वमा थिए तर पश्चिम काठमाडौंमा बिहानै ५ बजे बैठक बसिदियो त्यो पनि उनकै अध्यक्षतामा । यस्तो कीर्ते कर्म नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका ८३ सदस्यलाई प्राज्ञ नियुक्त गर्दा भएको थियो । साहित्यकारहरूले यस्तो बदमासी चाल पाएपछि टंगालदेखि अदालतसम्म गुहारे ।  बुधवार यो रिटउपर पेशी तोकिएको छ । त्यही कारण सो कीर्तेलाई सच्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्काे कीर्ते गरेको छ ।

स्रोतका अनुसार यसअघि गरिएको कीर्तेलाई सच्याउन मन्त्रीले अर्काे कीर्तेको सहारा लिएका छन् । सिफारिस समितिको बैठक काठमाडौंमा नभई फागुन २ गते मन्त्री किराती रहेकै स्थान अर्थात् मोरङ मिक्लाजुङको रमितेमै बैठक बसेर प्राज्ञ तथा परिषद् सदस्यहरू नियुक्ति गरिएको माइन्युट आइतबार मात्र पर्यटन मन्त्रालयमा तयार पारिएको छ । 

यसअघि फागुन २ मा गरिएको माइन्युट प्रज्ञा प्रतिष्ठान सिफारिस समितिको बैठक बिहान पाँच बजे, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दुई घण्टापछि लगत्तै (सात बजे) र ललितकला प्रज्ञा प्रतिष्ठानको बैठक साढे आठ बजे बसेको थियो, काठमाडौंमा । त्यतिबेला मन्त्री विराटनगरमा थिए । यसरी कीर्ते बैठक बस्ने प्रज्ञा प्रतिष्ठान सिफारिस समितिको अध्यक्ष मन्त्री किराती र सदस्यहरूमा भोगीराज चाम्लिङ, केशवराज सिलवाल थिए । मन्त्री पूर्वतिरै हुँदा दुई घण्टाको अन्तरालमा उनैको अध्यक्षतामा गोपाल ठाकुर र राकेश राई सम्मिलित समितिले संगीत नाट्य तथा प्रज्ञाका लागि आलोकश्री, सत्यकला राई, धिरेन्द्र प्रेमर्षी, राधा राई, कृष्णजित राई, डक्टर राई, झुमा लिम्बू, अशोककुमार राई, भीषण मुकारुङलगायत ५० जनाको नाम सिफारिस गरेको थियो । ललितकलामा पनि उसैगरी कीर्ते माइन्युट तयार गरी फागुन २ गते बैठक डाकेर ३ गते नै तीनवटै प्रज्ञा प्रतिष्ठानमा ८३ सदस्यीय प्रज्ञा नियुक्त गर्ने काम फत्ते भयो । यो कीर्ते कर्मको प्रमाणसहित साहित्यकारहरू अख्तियार र अदालत पुगेका थिए । 
 

टिप्पणीहरू