ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको होण्डुरसको बेइजिङमा दूतावास

ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेको होण्डुरसको बेइजिङमा दूतावास

क्यारिबियन मुलुक होण्डुरसले चीनको राजधानी बेइजिङमा दूतावास खोलेको छ । चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर छिन काङको उपस्थितिमा होण्डुरसका विदेशमन्त्री एनरिक रेइनाले दूतावासको उद्घाटन गरेका हुन् । 

एक चीन नीतिको समर्थन गर्दै होण्डुरसले गत मार्च महिनामा ताइवानसँग रहेको कूटनीतिक सम्बन्ध तोडेको थियो । लगत्तै चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेको उसले हिजो बेइजिङमा दूतावासको औपचारिक शुभारम्भ गरेको बताइएको छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सो अवसरमा दुवै मुलुकका विदेशमन्त्रीले एक चीन नीतिले दुईपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास लिएका छन् । यसैबीच होण्डुरसकी राष्ट्रपति पनि छ दिने भ्रमणको क्रममा चीन पुगेकी छन् । उनले गत शुक्रबार शांघाईबाट भ्रमण थालेको बताइन्छ ।

कूटनीतिक सम्बन्ध कायम भएको दुई महिनामा होण्डुरसको तर्फबाट उच्चस्तरीय भ्रमण भएको र बेइजिङमा दूतावास स्थापना गरिएको विषयलाई चीनले कूटनीतिक सफलता र सम्बन्ध विस्तारको रुपमा लिएको छ ।

भिडियो स्रोत : सिजीटिएन ।

टिप्पणीहरू