काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आपत्तिजनक अंश हटाउने पहलकदमीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन् ।
उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने भएकाले यसमा गम्भीर हुन मेयरले मन्त्रालयलाई पत्र मार्फत् अनुरोध गरेका हुन् ।
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको जिम्मेवारी गर्ने संरक्षण तोकेको उल्लेख गर्दै उनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बालेनको पत्रमा महानगरपालिकाभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने हुँदा तत्काल भारतसँग कुटनीतिक पहल गरी चलचित्रको आपत्तिजनक अंश हटाउने व्यवस्था मिलाउन भनिएको छ ।
साथै, उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म नेपालमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न निषेध गर्ने गराउने व्यवस्था गर्नसमेत पत्रमा भनिएको छ ।