न आलु, न प्याज

न आलु, न प्याज

यसपालिको बजेट जो छ, त्यो प्रभावकारी हुने सरकारको दावी थियो । अहिले सत्य साबित हुँदैछ । किनभने सरकारले ल्याएको बजेटको प्रभाव देखिन थालेको छ । तपाईं बजार जानुस्, अनि आलु र प्याजको भाउ सोध्नोस् । बजेटको प्रभाव परेको प्रत्यक्ष देख्न सक्नुहुनेछ । अहिले बजारमा आलु आलु रहेन, प्याज प्याज रहेन । प्याज र आलु भनेको प्याज–आलु होइन, सुनको टुक्रा हो कि जस्तो भइसकेको छ । यो सबै बजेटको प्रभाव हो । सरकारले बजेट प्रभावकारी हुन्छ त भनेकै थियो । भइदियो । बजेटको पहिलो प्रभाव आलु र प्याजमा देखिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेला भन्नुभएको थियो– म यसपाली तेस्रो पटक प्रधानमन्त्री बन्दैछु, केही न केही देखिने खालको काम गर्छु । अहिले बजारमा आलु र प्याजको भाउ जो अत्यधिक बढेको छ, त्यो उहाँको काम नै देखिएको हो । उहाँले देखिने गरी काम गर्छु भन्नुभएको थियो, त्यो आलु र प्याजमा जो देखियो ।

आलु र प्याजमा बढेको भाउबाटै थाहा भइसक्यो, बजेटको यो प्रभाव अझै बढ्नेवाला छ । अहिले केही विपक्षी नेता यो बजेटको कुनै काम छैन भनेर आलोचना गरिरहेका छन् । किन काम छैन ? काम त भयंकर छ । उहाँहरू बजारमा आलु र प्याज किन्न जानुहुन्न कि क्या हो हँ ?
 

टिप्पणीहरू