एनआइसीको लाभांश कहिले खाने अरुले ?

एनआइसीको लाभांश कहिले खाने अरुले ?

एनआइसी एशिया बैंकले गत दुई आर्थिक वर्षमा कमाएको अर्बौं नाफा सेयरधनीहरूलाई वितरण गर्न पाएको छैन । ०७७/७८ र ०७८/७९ को नाफा रकम वितरणमा केन्द्रीय बैंकले रोक लगाएको छ । राष्ट्र बैंकको उच्च नेतृत्वलाई पहिले अनुरोध, पछि चाकडी र अन्त्यमा शक्ति केन्द्रको दबाब दिए पनि एनआइसीको लाभांश वितरणमा गाँठो परेकै छ ।

‘झण्डै दुई वर्षसम्म एनआइसीका एक जना ठूलै कर्मचारी दिनहुँ बालुवाटार आएर सके गभर्नर, नसके डेपुटी गभर्नर अन्तमा नियमन विभागका कार्यकारी निर्देशकलाई भएपनि भेटी लाभांश फुकुवाको निम्ति अनुनय गरिरहे । तर, तोकिएको निर्देशन पालना नगरेकाले उसको लाभांश रोकिएको हो,’ डेपुटी गभर्नर कार्यालयका एक जना कर्मचारीले बताए । आफ्नै बैंकमा कुनै समय काम गरेको नाता लगाउँदै एनआइसीका हाकिमहरू रोक फुकुवाको लागि डेपुटी गभर्नरसम्म पुगेका थिए ।

बैंकले दुवै आर्थिक वर्षको अन्तिम वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाए पनि गभर्नर र सञ्चालक समितिले स्वीकृत गरेका छैनन् । पुँजीकोष अनुपातलाई बेवास्ता गरेपछि एनआइसीको लाभांशमा रोक लगाइएको केन्द्रीय बैंकका एक जना कार्यकारी निर्देशकले बताए । तोकिएको पुँजीकोष कम भएका बैंकलाई लाभांश वितरणमा रोक लगाइने व्यवस्था छ । ‘एनआइसीको टायर वान क्यापिटल कम भएपछि दुई वर्षको लाभांशमा रोक लगाइएको हो । यो भनेको कुनै पनि वाणिज्य बैंकको निम्ति ठूलै कारबाही हो ।’ 

उक्त बैंकले ०७७/७८ मा मुनाफाको १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको थियो । त्यसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश भनियो । जबकि त्यसअघि २१.०५ प्रतिशत लाभांश वितरण गरिएको थियो । 

आगामी साउनपछि चालु वर्षको लाभांश वितरणको निम्ति बैंक अहिलेदेखि नै सर्वत्र धाइरहेको स्रोतले बताएको छ । काउण्टर साइक्लिकल बफरको साउनदेखि लागू हुने थप प्रतिशत पुर्‍याउनुपर्ने दबाबमा रहेकाले एनआइसी एशिया कर्जा उठाउने अभियानमा लागिपरेको छ । यो वर्षको लाभांश वितरणको निम्ति बैंकले वार्षिक वित्तीय प्रतिवेदन कम्तीमा भदौ मसान्तअघि केन्द्रीय बैंकमा पेश गर्नसक्ने अवस्था देखिँदैन । 

टिप्पणीहरू