संघीयकै जस्तो हालतमा प्रदेशको बजेट

संघीयकै जस्तो हालतमा प्रदेशको बजेट

संघीय बजेटको जसरी सत्तारुढबाट बढी आलोचना भइरहेको छ त्योभन्दा पनि तीव्र गतिमा सुदूरपश्चिम प्रदेशको बजेटमा आलोचना भइरहेको छ ।  नेकपा (एकीकृत समाजवादी) का युवा नेता नरेशबहादुर शाही आर्थिक मामिलामन्त्री छन् तर सबैभन्दा बढी सामाजिक सञ्जालमा विरोध गर्ने समाजवादीकै कार्यकर्ता छन् । 

हामीले मन्त्री नबनाऊ भनेकै थियाैँ अहिले ठीक भयो भन्ने शैलीमा अध्यक्ष माधव नेपालको सचिवालयले प्रतिक्रिया दिने गरेको चर्चा छ । समाजवादी जस्तै खुलेरै सत्ताकै घटक माओवादी पनि विरोधमा छ । दलका नेता खगराज भट्ट, प्रदेश सभा सदस्य अक्कल रावलदेखि माओवादीका प्रायः सबै कार्यकर्ता बजेटको विरोधमा छन् । कांग्रेस कार्यकर्ताले पनि आफ्नै मुख्यमन्त्री कमलबहादुर शाहलाई गालीगलौज गरिरहेका छन् । अहिलेसम्मकै सबैभन्दा बढी हावादारी बजेट भएको चर्चा सुदूरपश्चिममा छ । 

आर्थिकमन्त्रीले मिडियामा बोलेको सुन्दा धेरै राम्रो बजेट आउने अपेक्षा थियो– नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले भने, २० प्रतिशत पालिका र हामीले भनेका ठाउँमा ८० प्रतिशत दलालका योजना बजेटमा समेटिएको छ । 

कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्का बजेटबारे बोल्नै चाहेनन् भने एमालेका धर्मराज पाठकले कम्युनिष्ट विचार बोकेको आर्थिक मामिलामन्त्रीले निकै कमजोर र जनअपेक्षा विपरीत बजेट ल्याएको बताए । माओवादीका ओमविक्रम भाट सरल पनि यस्तो बजेटबारे के टिप्पणी गर्ने भनेर पन्छिए । 

कांग्रेस, माओवादी, समाजवादी र उन्मुक्तिले यथास्थितिमा बजेट पास गर्न नसकिने भनेपछि प्रदेश सभामा बजेटमाथिको छलफल नै शुरु हुन सकेको छैन । सत्ता पक्षबाट निर्वाचित सभामुख भीमबहादुर भण्डारी पनि असन्तुष्ट छन् । 
 

टिप्पणीहरू