बालेन बोल्दा टुँडिखेल सुनसान

बालेन बोल्दा टुँडिखेल सुनसान

काठमाडौं महानगरपालिकाले आज ३१ औं महानगर दिवस मनाएको छ । सैनिक मन्चमा भव्य कार्यक्रम आयोजना गरेर महानगर दिवस मनाइएको हो । तर, यो वर्ष अधिकांश कुर्सी खाली देखिए । मेयर बालेन्द्र साह (बालेन) बोलिरहँदा नै उपस्थिति न्यून देखियो । 

कार्यक्रममा बालेनले आफू निर्वाचित भएयता २३ अर्ब रुपैयाँ बराबरको दुई हजार आठ सय रोपनी बढी अतिक्रिमित सार्वजनिक जग्गा फिर्ता ल्याएको र अझै १८ सय बढी रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेको सुनाइरहँदा सहभागीहरु कुर्सी छोडेर हिंडिरहेको अवस्था थियो । 

त्यस्तै, दुई दिनअघि मात्रै विदेशबाट फर्किएकी उपमेयर सुनिता डंगालले महानगर दिवसमा आफूहरुले महानगरबासीको हितका निम्ति काम गरिरहेको बताइन् । तर, के–के काम गरियो ? भनेर चाँहि खुलाइनन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल पुगेका थिए । उनले मेयर बालेनको कार्यको प्रशंसा गरे । 

तर, उनी बोल्ने बेला त टुँडिखेल नै खाली भइसकेको थियो । त्यस्तै, ऊर्जा, यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर खनाल कार्यक्रमको अन्तिमतिर पुगेका थिए । दिवस मनाइरहँदा महानगरको प्रत्यक्ष प्रशारणमा भने अवरोध भएको थियो । 

महानगरले आफ्ना हरेक बैठक वा कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्ने नीति लिए पनि यो वर्ष महानगर दिवसकै लाइभ हुन सकेन । निजी कम्पनीमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको महानगरले प्राविधिक कठिनाई भएको भन्दै यो पटक दिवसको प्रशारण गरेन । यद्यपि, सम्बन्धित कम्पनीलाई भुक्तानी दिनका निम्ति भने दिवस सकिएपछि महानगरले आफ्नो युट्युबमा भिडिओ अपलोड गरेको छ ।

टिप्पणीहरू