जंगल सखाप, कानुन कमजोर

जंगल सखाप, कानुन कमजोर

रौतहटका सामुदायिक वनमा व्यापक काठ चोरी तस्करी हुने गरेको छ । केही दिनपहिला चन्द्रपुर नगरपालिका–१ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दण्डबहादुर पुलामीकै मिलेमतोमा गैरी गाउँमा सुकेको एउटा ठाडो रुख काटिएको भन्दै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा उजुरी पर्‍याे । वडाध्यक्ष बलराम राउतको नेतृत्वमा रुख काटिएको भन्दै उजुरी परेको दुई दिनपछि सामुदायिक वनका पदाधिकारीले डिभिजन वन कार्यालय पुगे । 

कसले ठाडो रूख काटेको भन्ने विषयमा वनले तत्काल छानबिन नगरेका कारण एकले अर्कोलाई दोष लगाउँदै दोषी उम्काउने खेलमा लागेको स्थानीय बासिन्दाको भनाइ छ । संलग्नलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ । कर्मचारीले काठ र सवारी बरामद गरे पनि तस्कर भने सधैं उम्किने गरेका छन् । 

आर्थिक अनियमितता गर्ने र समयमा साधारण सभासमेत नगर्ने उपभोक्ता समूहमाथि वन कार्यालयले कारबाही प्रक्रिया अगाडि नबढाएका कारण ती समूह सिमित व्यक्तिको कब्जामा रहेको भन्दै लामो समयदेखि विरोध हुँदै आएको छ ।

स्रोतका अनुसार सहायक वन अधिकृत सुरेश महतोले केही दिनपहिला बागमती नदीको बाढीले बगाएर ल्याएको कामै नलाग्ने दाउरा बोकेको एउटा सानो गाडी पक्राउ गरेर नगद बुझी चार दिन पछि छाडेका थिए । उनले सो काठसहित पक्राउ परेका तीन जना छुटाउन पैसा लिएको कर्मचारीको भनाइ छ ।

उनले केही महिनापहिला एउटा पुरानो घर उखेलेर लैजानका लागि मोटो रकम लिएका थिए । पछि सुराकीका आधारमा अर्को टोलीले सो ट्रक पक्राउ गरेको थियो । जुन अहिले डिभिजन वन कार्यालयमा छ । ट्रक धनी भने सुकुम्बासी भएका छन् ।
 

टिप्पणीहरू