यसकारण धुलिखेलको मुर्दाघरबाट एक हप्तासम्म शव उठाइएन

यसकारण धुलिखेलको मुर्दाघरबाट एक हप्तासम्म शव उठाइएन

जनप्रतिनिधिको धम्कीपछि आत्महत्या गरेका पन्तको लाशले एक सातादेखि न्याय खोज्दै, प्रहरी देखि सिडियो समन्वय प्रमुख समेत घटनालाई ढाकछोप गर्न पीडितलाई थमथमाउदै काभ्रेपलाञ्चोक जिल्लामा एक पुरुषको शव एक सातादेखि धुलिखेल अस्पतालको मुर्दाघरमा राखिएको छ । भुम्लु गाउँपालिका १, सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव अस्पतालको मुर्दाघरमा राखिएको हो । 

असार १० गते बिहान ६ बजे सापिङ्गस्थित उर्लेनीमा पन्तले रुखमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि  ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या दुरुत्साहनको अभियोगमा सोही वडाका अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्ष ४२ वर्षीया दानकुमारी महत खत्री र ४६ वर्षका ताराबहादुर पन्तविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जाहेरी दिएका हुन् ।

तर, जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले जाहेरी दर्ता नगरी पटक–पटक मिल्न आग्रह गरेको पीडितको गुनासो छ । घटना भएको पर्सिपल्ट घटनाबारे जानकारी गराउने क्रममा डिएपी न्यौपानेले आवश्यक अनुसन्धान भइरहेको बताएका थिए ।

तर पीडितहरुले जाहेरी दर्ता नगरी आफूहरुलाई एक सातादेखि झुलाएको बताएका छन् । बुबालाई आत्महत्याको निम्ति वाध्य पार्नेहरुविरुद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेको र अहिलेसम्म दर्ता नगरी मिल्न आग्रह गरेको मृतकका छोरा शेरबहादुर पन्तले भने । 

आठौं दिनमा जाहेरी दर्ता हुने बताए पनि प्रहरी कार्यालयले आजसम्म त्यसबारे कुनै प्रक्रिया अघि बढाएको जानकारी दिएको छैन । जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले समेत प्रहरीकै भाषामा मिल्न आग्रह गरेपछि पीडितहरु सशंकित बनेको बताएका छन् ।

तर समन्वय प्रमुख गौतमले आफूले यथार्थ बुझ्न खोजेको र दोषीलाई कारबाही हुनेमा विश्वस्त रहेको जानकारी दिए । राज्य संयन्त्रका अधिकारीहरुदेखि जनप्रतिनिधिले समेत पीडितलाई मिल्न आग्रह गर्दै थमथमाउन थालेपछि विभिन्न अड्कल लगाइएको हो ।

समन्वय समितिको संयोजकत्वमा बसेको बैठकमा मुख्य आरोपित दानकुमारीलाई नबोलाई एक सातादेखि लुकाएर राखेको पीडित पक्षको आरोप छ । दानकुमारीले आफूलाई बैठकबारे कुनै जानकारी नभएको बताइन् ।

आरोपित वडाध्यक्ष लेखनाथ श्रेष्ठले जग्गाको विषयमा पहिलेदेखि विवाद हुँदै आएको स्वीकारेका छन् । उनले भने, ‘यो विवाद सुरुदेखि नै हो भन्ने अहिले थाहा पाएको छु । तर विवादबारे औपचारिक रुपमा जानकारी पाएको छैन ।’ 

स्थानीय प्रेम लामाले राजनीतिक आडमा प्रशासन घटनालाई ढाकछोपको प्रयास गरिएको आरोप लगाए । 

यस्तो छ घटना विवरण :

भुम्लु गाउँपालिका १ सापिङमा रहेको भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि ठडेन्द्रबहादुर पन्तकी श्रीमती भोजकुमारी बानियाँ पन्तको नाममा दर्ता रहेको पूरै जग्गामध्ये ३ आना दिने सहमति भयो ।  बैना बापत ३० हजार भुक्तानी गरियो ।

बाँकी रकम यथाशीघ्र भुक्तानी गरेपछि जग्गा पास गर्ने सहमति भएपनि दानकुमारीको टिमले रकम दिन आनाकानी गरेको ठडेन्द्रको परिवारको आरोप छ । रकम नदिने र जग्गा पास नगरी जबर्जस्ती भवन निर्माण गरेको, शौचालय निर्माणका लागि थप जग्गामा जग खन्ने, निर्माण सामग्री जम्मा गर्ने कार्य गरेपछि उनीहरुले विरोध गरेका हुन् । 

असार २ गते वडाध्यक्ष लेखबहादुर श्रेष्ठ, भीमेश्वर महिला कृषि समूहकी अध्यक्ष दानकुमारी महत खत्री भएको स्थानमा पुगेर ठडेन्द्रबहादुर पन्त सहितले रकम मागेको बताइन्छ । खरिद गरिएको जग्गाको तत्काल रकम दिन अनुरोध गरेपनि उनीहरुले उल्टै थर्काएको मृतकका परिवारको भनाई छ ।

‘ताराबहादुर पन्तले भर्खरै राम्रो हुँदै गएको मकैको बोट उखेलेर फालिदिए । जग्गामा जर्बजस्ती निर्माण गरेर मानसिक यातना र धम्की दिइयो,’ उल्लेख गर्दै मृतकका परिवार भन्छन्, ‘धम्कीपछि विक्षिप्त भएका ठडेन्द्रबहादुर पन्तले सोही जग्गाको नजिकै लप्सीको बोटमा नाम्लोको पासो लगाई असार १० गते बिहान झुन्डिएर आत्महत्या गर्नुभयो ।’

पीडितहरुले सोही कारण आफ्ना बाबु तथा नातेदार ठडेन्द्रबहादुर पन्तले आत्महत्या गरेको ठहर गर्दै मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को कसुर आत्महत्या गर्न दुरुत्साहन गरेकोमा कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् ।

टिप्पणीहरू