एमालेको कदम असंसदीय रहेको सत्ता गठबन्धनको ठहर

एमालेको कदम असंसदीय रहेको सत्ता गठबन्धनको ठहर

सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख प्रतिपक्षी दल एमालेको कदम असंसदीय भएको ठहर गरेको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले यस्तो ठहर गरेको हो । बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय पनि गरेको छ । 

आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले राजीनामा मागेको छ । यसैलाई लिएर उसले हिजो संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो । 

त्यसपछि आज बिहान बसेको सत्तारुढ गठबन्धन बैठकले एमालेको कदम असंसदीय भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुनपर्ने निर्णय गरेको हो । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु सहभागी थिए ।
 

टिप्पणीहरू