१२ महिनाको काम ४० दिनमै तमाम

१२ महिनाको काम ४० दिनमै तमाम

साँच्चै नै तीन महिनाको काम १० दिनमा सकिने भए १२ महिनाको काम ४० दिनमा सकिनुपर्ने हो । तर, काम गरेर हैन, कागज मिलाएर राज्यकोषको चरम दुरुपयोग भैरहेको छ देशभर एकैचोटि । 

सबै सरकारी निकायको चौमासिक रकम निकासा भइसक्नुपर्ने चैत मसान्त वा वैशाख पहिलो सातामा हो । तर, असारको १४ गते आएर बल्ल रकम निकासा भयो । २४ गतेभित्र विभिन्न निर्माण आयोजनाका काम सिध्याई हिसाब फरफारक गर्नुपर्ने छ । जुन काम अहिले जोडतोडका साथ भइरहेको छ । साँच्चै नै काम पनि यसरी नै हुँदो हो त, देशको अवस्था कहाँ पुग्थ्यो होला ? तर, यी सब मिलिभगतमा देशलाई दोहन गर्ने धन्दा हुन् ।

खासमा वैशाख, जेठ भनेको विकास निर्माणका कामहरु हुनुपर्ने समय हो । पुँजीगत खर्चको सबै हिसाब भुक्तानी भई पाइपलाइनमा छन् । त्यो भुक्तानी मिलाउन अहिले विभिन्न कार्यालयका हाकिम र लेखापालहरु व्यस्त छन् । अघिपछि कहिले बिरामीको बहानामा त कहिले विभिन्न नाममा विदेश जाने वा काठमाडौंमा थुप्र्रिनेहरु अहिले गाउँगाउँमा थुप्रिन थालेका छन् । किनभने, स्थानीय तहका बजेटले वडा वडामा काम  गर्नुपर्छ । त्यही कारण शहरका हाकिमहरु रहलपहल मिलाउन साविक अड्डामा हाजिर हुन पुगेका छन् । यस्तो हुँदा ठूला–ठूला परियोजना, अर्थात् बहुवर्षीय आयोजनाहरुको काम ठप्प भएका छन् । त्यसैले त मुग्लिन–नारायणगढ सडक खण्ड अस्तव्यस्त छ । त्यो कामलाई अहिलेको चटारोले रोक्दैन । किनभने, त्यसको बिल ठूलो हुन्छ । अब काम गर्न थाले पनि बिल बनाउन भ्याइँदैन । बिल बनाएर २४ गतेभित्र छानवीन गरी ‘ठीक छ’ भनेपछि भुक्तानी दिनुपर्‍यो । त्यसरी भुक्तानी दिएपछि महालेखाले बेरुजु देखाइदिन्छ  । त्यसैले अब मुग्लिनको बाटो दुई चार दिन खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । किनकि टालटुल गरेर करोडौं रुपैयाँको भुक्तानी त लिनुपर्‍यो ! भनिन्छ, देश विकास हुन नसक्नुको मुख्य कारण यो पनि हो । 

ठूला बजेट भएका पूर्वाधारका कार्यालयहरु, जस्तै सडक विभाग, डिभिजन सडक कार्यालयहरुमा गयो भने अहिले ठेकेदार, निर्माण व्यवसायी, सप्लायर, कार्यालयका हाकिम, एकाउण्टेण्ट, स्टोरकिपर, इञ्जिनियरहरु एकदमै कर्तव्यपरायण अवस्थामा भेटिन्छन् । अघिपछि पनि भुक्तानी गर्नका लागि उनीहरु यसरी नै उपलब्ध हुने हो भने देश सिंगापुर बन्न कत्ति पनि समय लाग्दैन । भनिन्छ, यहाँ त एउटाले खन्ने, अर्कोले पुर्दै लाने काम भइरहेको छ । ढल निकास र खानेपानीले पालैपालो पाइप हाल्ने, दूरसञ्चारले फाइबर बिच्छ्याउन सडक भत्काउने । एउटा उदाहरण छ, ललितपुरको धोविघाट र नख्खुतिर । दुई महिनाअगाडि मात्र पिच भएको बाटो अहिले खन्दा, खोस्रिंदा फेरि त्यस्तै बिजोग छ  । बाटो भ्वाङ पार्‍यो, बर्षामा अलपत्र छाडेर हिँड्यो । 

भद्रगोलै भद्रगोल

देशमा जता हेर्‍याे, उतै भद्रगोल छ । बिल मिलाएर ‘लुट्न पाइने’ भएपछि कतिपयले दुःख गर्न छाडेका छन् ।  जस्तो– बैंकमा तरलता भयो । लगानीयोग्य पुँजी चार खर्बभन्दा बढी छ  । तर, लिने मान्छे नै छैन । काठमाडौं शहरका मुख्य व्यापारिक क्षेत्रमै सटरहरु खालि छन् । किनभने, धेरैले व्यवसाय गर्न छाडिसके । व्यापारिक स्थलमा भीडभाड हुनुपर्ने, तर अस्पताल, अदालत, मालपोततिर पो भीड छ । शहरका एउटा चौकमा क्यान्टिन र चिया पसलले दिनको दुई सय कप चिया बेच्थे, अहिले ३० कप बेच्नुपरेको अवस्था छ  । कालीमाटीमा किसानले गोलभेडा पोखेर फाले, गोलभेडाको भाउ बढ्यो । माछा र अण्डा भारतबाट ल्याउन दिँदा उत्पादकहरु मारमा छन् । अहिले वर्षाका कारण सडक अवरुद्ध हुने क्रमले आपत छ । सर्वसाधारणको घण्टौं जाममा बित्छ । मुग्लिङ–नारायणगढ खण्डमा हुने अवरोधले पहिला २७ घण्टा अवरुद्ध हुने कृष्णभीरलाई बिर्साएको छ । मन्त्री–प्रधानमन्त्रीदेखि विपक्षी दलका नेतासम्म सेनाको हेलिकप्टरमा उड्ने, जमिनको दुःख नदेख्ने स्थिति छ । अनि, हिलोमा गमबुट लाएर असार १५ गते धान रोपिदिए भइगयो । कृषि ज्ञान केन्द्र भन्ने छ, त्यसको नाममा कायकर्तालाई पैसा बाँड्दै ठिक्क । न ज्ञान, न अनुगमन । 

देश भत्केको अर्काे उदाहरण हेरौं, डेढ बजेसम्म न्यायपालिकामा हड्ताल हुन्छ । जनताका मुद्दा, न्याय–निसाफ सब चौपट । यसरी अदालतमै हड्ताल, कहिले वकिलबाट कहिले न्यायाधीशबाट, कहिले कर्मचारीबाट । यस्तो कुराले देशलाई थिल्थिलो पारिरहेको देखिन्छ । माइतिघरमा दिनदिनै हड्ताल छ  । एउटाले प्रदर्शन गर्न थालेपछि अर्कोको लागि ठाउँ छैन । जाति, जनजाति, कृषक, सहकारी पीडित, मीटर ब्याजपीडितदेखि सबै त्यहाँ छन् । 
 

टिप्पणीहरू