सदनको अवरोध खुलाउन प्रधानमन्त्रीको पहल, केपी ओलीसँग सिंहदरबारमा संवाद

सदनको अवरोध खुलाउन प्रधानमन्त्रीको पहल, केपी ओलीसँग सिंहदरबारमा संवाद

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि पहल थाल्नुभएको छ । 

संसदमा प्रतिपक्षीहरुले गरेको अवरोध हटाउने प्रयासस्वरूप प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच संसद खुलाउने विषयमा कुराकानी भएको बताइएको छ ।  

आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भनी प्रधानमन्त्री प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएको भन्दै एमालेले उहाँको राजीनामा मागेर सदनन अवरुद्ध गर्दै आएको छ । जसका कारण गत बुधबारदेखि संसदका दुवै सदन अवरुद्ध छ । 

प्रधानमन्त्रीले राजीनाको अडानमा एमाले टसमस नभएकाले तीन नेताले छलफल गरेपनि तत्काल सदन खुल्ने सम्भावना भने देखिंदैन । एमालेलेको अवरोध जारी रहँदा आजको राष्ट्रियसभा बैठक स्थगित भैसकेको छ ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधिसभा बैठक पनि चल्न नदिने बताएका छन् । 

प्रतिनिधिसभामा प्रतिपक्षीहरुको अवरोधका कारण मीटरब्याज सम्बन्धी विधेयक पारित नभएपछि सदन खोल्न चौतर्फी दबाब छ । सोहीक्रममा सत्ता र प्रतिपक्ष संवादमा जुटेका हुन् ।

टिप्पणीहरू