गरिब–दुःखीको घाउमा मल्हम बनेका वडाध्यक्ष कुँवर

गरिब–दुःखीको घाउमा मल्हम बनेका वडाध्यक्ष कुँवर

‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारा मिठो सुनिए पनि अझै व्यवहारमा लागु हुन सकेको छैन् । जिल्लाका स्थानीय पालिकाहरुको अवस्था देख्दा यो नारा सार्थक भएकोजस्तो देखिँदैन । सामान्य कामका लागिसमेत संघसम्म धाउनुपर्ने बाध्यता अझैपनि छ । 

अहिले सर्वत्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ्गको चर्चा छ । यी दुईको चर्चा हुँदै गर्दा जनमानसमा एउटा प्रभाव परेको छ, ‘काम गर्नलाई पार्टीभन्दा व्यक्ति राम्रो हुनपर्दो रहेछ ।’

कतिपय वडाले पालिकाले गर्न नसकेको काम पनि गर्दै आएका छन् । श्रमदान होस् या कुनै अन्य भूमिका निर्वाह गर्ने ठाउँमा होस्, वडाध्यक्ष प्रमुखभन्दा अगाडि छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ४, चौबासका वडाध्यक्ष लोकबहादुर कुँवरले कामको मामिलामा पालिका अध्यक्षलाई चुनौती दिएका छन् । 

उनी सिङ्गो पालिकाका जनताको मुटुमा बस्न सफल भएका छन् । दुई पटक नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित उनी हरदम दलित समुदायको सेवामा खटिने गरेका छन् । सादा जीवन उच्च विचार भएका वडाध्यक्ष कुँवर किसानसँगै घाँसदाउरा गर्न जान्छन् । कामलाई सानो ठूलो नमान्ने उनी बिहान गाईवस्तु स्याहारेर दिँउसो स्थानीयको सेवामा खटिन्छन् ।  

केही साताअघि सोही वडाकी एक दलित बालिका आँगनको डिलबाट खसेर गम्भीर घाइते भएकी थिइन् । आर्थिक अवस्था कमजोर भएकी उनी उपचार गर्ने खर्च नभएर मृत्युसंग लडिरहेकी थिइन् । तर, कसैले उनलाई सहयोग गर्न चासो देखाएनन् । पालिकाका जनप्रतिनिधिहरुले वास्तासमेत गरेनन् । गाउँमा समाजसेवी बन्दै हिँड्नेहरु पनि त्यतिबेला कता हराए, खै । 

वडाध्यक्ष कुँवर ती बालिकाको मल्हम् पट्टी बने । ‘वडाध्यक्षले सहयोग नगर्नु भएको भए, हाम्रो कहाँ उपचार गर्ने हैसियत छ र । उहाँले गर्दा नै मेरो छोरीले नयाँ जीवन पाइन’, घाइतेका परिवारले भने । 

महादेव प्राथमिक विद्यालयमा कक्षा चारमा अध्ययनरत बालिकालाई आमाले छोडेर गएको सात वर्ष बितिसकेको छ । आमाको मायासमेत नपाएकी उनलाई उपचार गर्न वडाध्यक्ष कुँवरले हारगुहार गरिरहेका छन् । 

उक्त घटना घटेपछि उनले आफ्नो फेसबुकमार्फत् सहयोगका लागि अपिल गरेका थिए । धुलिखेल अस्पतालमा उपचार गराइरहेकी बालिकाको लागि उठेको सहयोग रकम बुवाको खातामा जम्मा भइरहेको छ । 

पालिकाले ३० हजार रुपैयाँ सहयोग गर्ने भनेपनि उनले सहयोग अभियान चलाएर घाइते बालिकाको उपचार गराएका हुन् । उनको सहयोगले पीडित परिवारको चर्किएको घाउमा शीतलता प्रदान गरेको छ । 

‘मलाई ठूलो बन्न मन छैन् । दुःखी गरिबको सेवा गर्न पाउँदा म खुसी छु । पीडा सबैको एउटै हो, हामीले सहयोग नगरे कसले गर्छ ?’, उनले भने । बालिकाको टाउकोमा चोटपटक लागेकाले अझै केही दिन अस्पतालमै राख्नुपर्ने जनाइएको छ । अहिलेसम्म वडाध्यक्ष कुँवर उनको उपचारका लागि खटिरहेका छन् ।

टिप्पणीहरू