ग्रेटर धरान—ग्रेटर इटहरी

ग्रेटर धरान—ग्रेटर इटहरी

अहिले धरान र इटहरीको सीमा विवाद चर्चामा छ । उता नेपाल र भारतको सीमा विवाद चलिरहेकै बेला यता धरान र इटहरीको सीमा विवाद चर्किरहेको छ । सुनिन्छ, अहिले धरान र इटहरीमा एउटाले राखेको बोर्ड अर्कोले फ्यालिदिने होड छ रे । अर्थात एउटै भूमिमा दुई उपमहानगरपालिकाको दावी । जस्तो कि कालापानीमा नेपाल र भारत दुवैले दावी गरिरहेका छन्, ठीक त्यसै गरी सुनसरीको हाँसपोसामा धरान र इटहरी दुवैले दावी छ । आफ्नो भूभागबारे धरानले पनि ‘चुच्चे नक्सा’ जारी गरेको छ, इटहरीले पनि ‘चुच्चे नक्सा’ जारी गरेको छ । दुवै उपमहानगरपालिकाका आ–आफ्नै चुच्चे नक्साहरू छन् ।

सबैलाई थाहा भएकै कुरा हो, धराने मेयर हर्क साम्पाङ ग्रेटर नेपालको पक्षधर हुनुहुन्छ । काठमाडौंका मेयर बालेन साहले आफ्नो कोठामा ग्रेटर नेपालको नक्सा राख्दा धरानका मेयर हर्क साम्पाङले ‘वाह ! गज्जब !’ भन्दै त्यसको तारिफ गर्नुभएको थियो । तर जतिसुकै तारिफ गरे पनि ग्रेटर नेपाल त ज्यान गए पनि आउनेवाला छैन । अब ग्रेटर नेपाल नआउने भएपछि हर्क साम्पाङले ‘ग्रेटर धरान’ भए पनि ल्याउन खोज्नुभएको हो कि ? उहाँले ‘ग्रेटर धरान’ भन्नुभयो भने इटहरीले पनि ‘ग्रेटर इटहरी’ भन्नु स्वाभाविकै भयो, हैन त बालेनजी ?
 

टिप्पणीहरू