नेकपा माओवादी केन्द्र ललितपुरले राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीको विवादास्पद अभिव्यक्तिप्रति निन्दा र भत्सर्ना गरेको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको श्रद्धान्जली सभामा राजनीतिक भाषण गरेकी उनको प्रस्तुति असंवेदनशील रहेको भन्दै माओवादी केन्द्र ललितपुर जिल्ला समन्वय समितिले आज विज्ञप्ति निकालेर त्यसको निन्दा गरेको हो । कार्कीले असंवेदनशील र खेदजनक अभिव्यक्ति दिएको विज्ञप्तिमा जनाइएको छ ।
सीतालाई श्रद्धाञ्जली दिन माओवादी मुख्यालय पेरिसडाँडा पुगेकी सांसद कार्कीले युट्युबरसँगको अन्तर्वार्ताका क्रममा प्रचण्डले बिरामी पत्नीको स्याहार गर्न नसकेको आसयको अभिव्यक्ति दिएकी थिइन् । सभामा पुगेर न्यूनतम मानवीय संवेदनासमेत ख्याल गर्न नसकेको भन्दै उनको उक्त अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ ।