नेपालमा हेलिकोप्टर दुर्घटना : ४४ वर्षमा सय बढीको निधन

नेपालमा हेलिकोप्टर दुर्घटना : ४४ वर्षमा सय बढीको निधन

पछिल्लो पटक मंगलबार सोलुखुम्बुमा मनाङ एयरको ‘९ एन–एएमभी’ हेलिकोप्टर दुर्घटनामा पर्यो । लिखुपिके गाउँपालिका वडानम्बर ५ को लामजुरा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार छ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा नेपाली नागरिक समेत रहेका क्याप्टेन चेतबहादुर गुरुङ र मेक्सिकोका यात्रुहरु सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक छन् । 

दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा कडाइ गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पछिल्लो दुर्घटनापछि हेलिकोप्टर उडानमा नयाँ नियम लागु गरिएको बताउँछन् । 

उनका अनुसार अब मनसुन अवधिभर हेलिकोप्टरले हिमाली क्षेत्रमा उडान गर्न पाउने छैनन् । त्यस्तै, हेलिकोप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान विन्दु वा अवतरण विन्दुमध्ये कम्तीमा एक स्थान विमानस्थल नै हुनुपर्ने समेत नियम ल्याइएको छ । 

प्रवक्ता निरौलाले हेलिकोप्टरको उडानसम्बन्धी हाल विमानस्थलमा भइरहेको अनुमति दिने काम मनसुनभुर (सेप्टेम्बर २०२३) साप्ताहिक रुपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय समेत भएको जानकारी दिए । प्राधिकरणले हेलिकोप्टर तथा स्टल विमानस्थल (सानो धावनमार्ग भएका हिमाल र पहाडमा विमानस्थल) मा हुने दैनिक उडानलाई नियमित सुपरिक्षेण गर्न कमिटी समेत गठन गर्ने भएको छ ।

योसँगै सेयर सदस्य (लगानीकर्ता) का रुपमा हेलिकोप्टर कम्पनीमा संलग्न भएर पाइलटको काम गरिरहेकालाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरिएको छ । उनले भने, ‘हामीले हेलिकोप्टर दुर्घटना हुन नदिन सबै खालको उपाय अपनाउँदै आएका छौं । तर, केही मौसमी र प्राविधिक कारणवशः दुर्घटना हुने गर्छ । यसलाई मध्यनजर गर्दै हामीले हेलिकोप्टर उडानमा नयाँ नियम लागू गर्न लागेका हौं ।’

पछिल्लो समय दुर्गम क्षेत्रमा सामान ढुवानीका लागि मात्र नभई हिमाली भेगमा पर्यटक ओसारपसारमा समेत हेलिकोप्टरको प्रयोग बढ्दो छ । विशेषगरी, पर्यटकीय समयमा हुम्लाको सिमकोट, अन्नपूर्ण र खुम्बु क्षेत्रमा यसको प्रयोग बढ्ने गर्छ । यता, चलचित्र निर्माणका क्रममा समेत हेलिकोप्टरको प्रयोग भएको देखिन्छ । तर, अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सुरक्षित मानिने हेलिकोप्टरहरु नेपालमा भने दुर्घटनामा परिरहँदा प्रश्न उठ्ने गरेको छ । 

यसअघि गत बैशाख २२ गते संखुवासभामा सिम्रिक एयरको ‘९ एन–एजेजेड’ हेलिकोप्टर दुर्घटनामा परेको थियो । भोटखोला गाउँपालिका वडानम्बर ४ को सिप्रुङमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । चार जना गम्भीर घाइते भएका थिए । सो हेलिकोप्टर जलविद्युत परियोजनाको सामान ओसार्ने क्रममा दुर्घटनामा परेको थियो ।

नेपालमा भएका धेरै वटा हेलिकप्टोर दुर्घटनामा मन्त्री, राज्यमन्त्रीसहितका विशिष्ट व्यक्ति र सर्वसाधारण धेरैले ज्यान गुमाइसकेका छन् । लगातारको दुर्घटनाले हेलिकोप्टर उडानको सुरक्षामा गम्भीर प्रश्न उठ्दै आएको छ । तरपनि सरकारले हवाई सुरक्षामा कडाइ नगरेको भन्दै सर्वसाधारणले गुनासो गरेका छन् । 

नेपालमा हालसम्म भएका हेलिकोप्टर दुर्घटनामा एक सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कयौं घाइते भएका छन् । सन् १९७९ डिसेम्बर २७ मा नेपालमा पहिलो पटक हेलिकोप्टर दुर्घटना भएको थियो । लाङटाङमा भएको भीभीआईपी हेलिकोप्टर दुर्घटनामा छ जनाको ज्यान गएको थियो । 

त्यसपछि सन् १९९७ सेप्टेम्बर ३० मा थुप्तेङचोलिङमा कर्णाली एयरको हेलिकोप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भयो । सन् १९९८ अक्टोबर २४ मा एसियन एयरलाइन्सको हेलिकोप्टर मूलखर्कमा दुर्घटना हुँदा तीन जनाले ज्यान गुमाए ।  

सन् २००१ नोभेम्बर १२ मा मुगुको रारामा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको निधन भयो । सन् २००२ सेप्टेम्बर ३० मा सोलुखुम्बुमा एसियन एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा ११ जनाको ज्यान गएको थियो । 

त्यस्तै, सगरमाथा बेसक्याम्पस्थित सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा सन् २००३ मे २८ मा दुई जना बिते । सन् २००५ जनवरी ४ मा एयर डाइनेस्टीको हेलिकोप्टर रामेछापमा दुर्घटना हुँँदा तीन जनाको ज्यान गएको थियो । 

नेपालमा हालसम्मकै सबैभन्दा ठूलो हेलिकोप्टर दुर्घटना सन् २००६ मा भएको थियो । श्री एयरलाइन्सको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटनामा पर्दा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्केसहित २४ जनाको एकै ठाउँमा इहलीला समाप्त भएको थियो ।

२०१० नोभेम्बर ७ मा भएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा दुई जनाले अमादब्लम हिमालमा मृत्युवरण गरे । सन् २०१३ र २०१४ मा क्रमशः सिमिकोट र सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनामा १–१ जनाको ज्यान गएको थियो ।

यस्तै, २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर सिन्धुपाल्चोकमा दुर्घटनामा पर्दा चार जनाको निधन भयो । २०१६ अगस्ट ८ मा नुवाकोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना भयो । जसमा सात जनाको निधन भएको थियो । 

सन् २०१८ मा हुम्ला र धादिङमा भएको हेलिकप्टर दुर्घटनामा पनि क्रमशः एक र छ जनाको मृत्यु भएको थियो । यता, २०१९ फेब्रुअरी २७ मा ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो । 

दुर्घटनापछि छानबिनका लागि गठित समितिले उक्त हेलिकोप्टर दुर्घटनामा प्रतिकूल मौसम र त्यसको आकलनमा पाइलटको कमीकमजोरी कारण रहेको औंल्याएको थियो । त्यसपछि २०२३ मे ५ मा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभामा दुर्घटना हुँदा १ जनाको ज्यान गयो । यी सबै दुर्घटना पछिल्लो ४४ वर्षका बीचमा भएका हुन् । 

मौसमी अवस्थालाई ध्यान नदिई तथा प्राविधिक समस्याका बाबजुद हेलिकप्टर उडान भर्दा यस्ता दुर्घटना हुने गरेको उडान क्षेत्रका विज्ञहरु बताउँछन् । उनीहरुले नेपालमा अहिलेपनि प्रतिकूल मौसममा उडान गर्ने समस्या रहेको उल्लेख गरे । 

त्यसैगरी दैनिक उडानको नियमित सुपरिवेक्षण गर्नुपर्ने र विमानको उपकरण र मर्मत सम्भारलगायत पक्षमा विशेष जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।

टिप्पणीहरू