भावुक हुँदै प्रधानमन्त्रीले भन्नुभो : सीताले शान्त मृत्यु रोजिन्

भावुक हुँदै प्रधानमन्त्रीले भन्नुभो : सीताले शान्त मृत्यु रोजिन्

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलमल दाहाल प्रचण्डले आफ्नी पत्नी सीता दाहालले शान्त मृत्यु रोजेको बताउनुभएको छ । 

लामो समय जटिल प्रकारको रोगबाट पीडित सीताको गत बुधबार ६९ वर्षको उमेरमा निधन भएको थियो । निधनको सातौँ दिनमा आज बालुवाटारस्थित सरकारी निवासमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बाँचुञ्जेल अरुलाई पीडा दिन नजानेकी सीताले शान्त मृत्यु रोजेको बताउनुभएको हो । 

पत्नी वियोगको पीडामा रहेका बेला समवेदना प्रकट गर्ने सबैप्रति आभार प्रकट गर्दै उहाँले शोकको घडीमा पाएको साथले देश र जनताप्रति थप जिम्मेवारी बोध गराएको पनि उल्लेख गर्नुभयो ।  ‘शोकको यो घडीमा यहाँहरुको साथ, समवेदना र सदभावले हामीलाई पीडाबाट निस्कनमात्र मद्दत गरेको छैन, बरु देश र समाजप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महशुस गरेका छौं’, उहाँले भन्नुभयो । 

छोरी ज्ञानु र छोरा प्रकाश गुमाउँदासमेत पीडा सामना गरेकी सीताको उपचारमा राज्यकोषबाट कुनै सुविधा नलिएको र हुनसक्ने सबै उपचार पद्धति अपनाइएको प्रधानमन्त्री प्रचण्डले सुनाउनुभयो । 

श्रद्धाञ्जली सभामा मन्त्रिपरिषद्का सदस्य, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, पूर्वप्रधानमन्त्रीहरु, संघीय संसदका सदस्य, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, आफन्त, शुभचिन्तकलगायतको सहभागिता थियो ।

टिप्पणीहरू