गृहमन्त्री विमानस्थलबाट फर्केलगत्तै प्रधानमन्त्रीको बिदाइनिम्ति सुरक्षा बैठक

गृहमन्त्री विमानस्थलबाट फर्केलगत्तै प्रधानमन्त्रीको बिदाइनिम्ति सुरक्षा बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको इटाली भ्रमणका क्रममा सुरक्षालगायतका आवश्यक प्रवन्ध मिलाउन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा बैठक बसेको छ । 

महाप्रवन्धक प्रतापबाबु तिवारी,प्रहरी वरिष्ठ उपरीक्षक दीपसमशेर जबरा,भन्सार कार्यालय, गौचरका प्रमुख भन्सार अधिकृत नारद गौतम, हवाई सुरक्षा प्रमुख बच्चुराम श्रेष्ठ, त्यहाँस्थित राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक, महासेनानी सूर्यकान्त घिमिरे,सशस्त्र प्रहरी इन्टेलिजेन्स ब्यूरो इकाई कार्यालयका श्यामबाबु घिमिरे,विमानस्थल अप्रेशन अधिकृत टेकनाथ सिटौलालगायत त्यहाँ रहेका सबै इकाई प्रमुखहरुको सहभागितामा आज दिउँसो बैठक बसेको हो। 

२६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड भोलि इटाली भ्रमणमा जाँदै हुनुहुन्छ । साँझ पौने ६ बजे उहाँ विमानस्थलको अतिविशिष्ठ कक्षमा आइपुग्ने र कतार एयरको उडान नम्बर क्यूआर ६४७ मा ६ बजे दोहा हुँदै इटाली प्रस्थान गर्ने तालिका छ । 

साताव्यापी भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड साउन १२ गते शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । उहाँ कतार एयरको उडान नम्बर क्यूआर ६५२ बाट विहान १० बजे स्वदेश फिर्ता हुने बताइएको छ । 

यसअघि आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थलको आकस्मिक निरीक्षण गर्नुभएको थियो । बिहान साढे १० बजे त्यहाँ पुग्नुभएका उहाँ निरीक्षणपछि आवश्यक निर्देशन दिएर १२ बजे बाहिरिनुभयो । लगत्तै सुरक्षा बैठक बसेको हो ।
 

टिप्पणीहरू