नेपालको तीनदिने भ्रमणमा आज बिहान काठमाडौं आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ शहरका प्रमुख एवम् सचिव युआन च्या च्युनले अपरान्हदेखि उच्चस्तरीय भेटघाट शुरु गरेका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोबाट बिहान काठमाडौं ओर्लिएका उनी अपरान्हदेखि भेटवार्तामा जुटेका हुन् । युआनले अपरान्ह ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटघाट गरेका थिए । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलको उपस्थिति थियो । नेपालबाट परराष्ट्रविज्ञ डा सुरेश चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।
अपरान्ह ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल संवाद गरेका चिनियाँ नेताले साँझ ५ बजे सिंहदरबार पुगेर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग कुराकानी गरेका छन् ।
साँझ ६ बजेदेखि टोली उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटवार्तामा सरिक भएको हो । गृहमन्त्रीसँगको छलफल पछि युआन साँझ साढे ६ बजे माओवादी केन्द्रले उनको सम्मानमा होटल द्वारिकामा आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङका एक विश्वासपात्र मानिने युआनलाई माओवादी केन्द्रका महासचिव देव गुरुङले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।