बंगलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा लघुवित्तका प्रणेता मोहम्मद युनुसलाई १० लाख बढी डलर कर तिर्न आदेश दिएको छ । युनुसले तीन वटा परोपकारी ट्रस्टलाई प्रदान गरेको भनिएको ७० लाख अमेरिकी डलरमा कर छलेको आरोप लागेपछि अदालतले उक्त आदेश दिएको हो ।
८३ वर्षीय युनुसमाथि सामाजिक कार्यको नाममा गरिबहरूको ‘रगत र पसिना चुस्दै’ आएको आरोप लागेको छ । उनले आफ्नो माइक्रो क्रेडिट बैंकबाट लाखौंलाई गरिबीबाट माथि उकास्ने श्रेय पाएपछि सन् २००६ मा आर्थिक विकासका लागि नोबेल शान्ति पुरस्कार प्राप्त गरेका हुन् ।
सर्वोच्च अदालतले तल्लो अदालतले यसअघि गरेको निर्णयलाई सदर गर्दै युनुसलाई उक्त रकम भुक्तानी गर्नैपर्ने फैसला सुनाएको हो । उनले सन् २०११ देखि २०१४ सम्म प्रोफेसर मोहम्मद युनुस ट्रस्ट, युनुस फ्यामिली ट्रस्ट र युनुस सेन्टरलाई ७६ करोड ७० लाख टाका (७० लाख अमेरिकी डलर) दान गरेका थिए ।
उनले सन् १९८० को दशकमा स्थापना गरेको ग्रामीण बैंकमार्फत् दशौं लाख ग्रामीण महिलाहरूलाई लघुवित्त कर्जा प्रदान गरेर बंगलादेशको गरिबी उन्मूलनमा मद्दत पुर्याएका थिए ।